हर्क साम्पाङ दाजुलाई वशन्त भाइको चिठ्ठी

वसन्त राई, हाल पोखरा ।

आदरणीय दाजु,                                      
हर्क साम्पाङ ज्यु, साष्टाङ्ग डण्डवत । 

किराँती संस्कार अनुसार भाईले दाजुको खुुट्टामा शीर राखेर ढोक्नु पर्ने चेतना भएता पनि भौतिक दूरीका कारणले तेसो गर्न नसकेकोमा क्षमा प्रार्थी छु । राई पाछा र वंशावली अनुसार तपाई साम्पाङ अनि म वान्तवा भित्रको हाङ्गखिम भए पनि मेरो मात्र नभएर समग्र धरानको तपाईं सहाेदर दाजु हुनु हुन्छ भन्ने लाग्छ । तपाईलाई धराने नागरिक ले दाजु मान्दा पाप हुन्न । किनकी हिन्दु संस्कार अनुसार लोक को भलो हुने काममा अग्रसर भएर सबैलाई वाटो देखाउने भनेको उमेरले ठूलो–सानो भए पनि व्यावहारतः जेठो र अग्रज नै हो । 

दाजु, म आफूले आफैँलाई समाज रुपान्तरणको लागी व्यावसायिक जीवन अर्पण गरेको विकासे सहजकर्ता ठान्थे । त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तह अन्तर्गत ग्रामीण विकास अध्ययन गर्दा प्राध्यापकहरूले विकासको विभिन्न आयामहरू वेस्सरी कण्ठ पार्न लगाउनु भयो । कोर्ष सके पछि त्यो कण्ठ पारेको आयामहरू हु–बहु व्यवसायिक जीवनमा उतारेर गरिवीको दुष्चक्र (Vicious cycle of poverty) तोड्न सक्छु भनेर फिल्डमा कार्यन्वयन चरणमा पाईला टेक्दा पो वल्ल थाहा भयो कि त्यो सवै सिद्धान्त र आयामहरू त विद्वानहरूले विश्वको केही निश्चित ठाउ र परिवेशको नमुना अध्ययन अनुसन्धान गरेर स्थापीत गरेका रहेछन् । 

दाजु, आज त्यो सिद्धान्तहरू सबै फिक्का लाग्न थाल्यो । किनकी मलाई त Putting people First अनि विकास हुन्छ भनेर पढाउनु भयो । फेरि अर्को च्याप्टरमा Go to the people, live with them, learn from them and work with them भनेर पढाउनु भयो । जनताको आवश्यकता पहिचान गर्न लाई PRA / RRA टुल्स प्रयोग ग¥यो भने वास्तविक आवश्यकता पहिचान हुन्छ अनि त्यो आवश्यकता लाई पूर्ति गर्दा विकास हुन्छ भनेर उडाउनु भयो । तालिम, गोष्ठी, वैठक देखी लिएर नेपालको विभिन्न दुर्गम समुदायमा व्यक्तिगत छलफल अनि आम भेलामा समेत सोही विधि र आयामहरूको अवलम्वनबाट विकास हुन्छ भन्दै वकालत गर्दै हिडियो । 

अहिले आएर तपाईले मेरो दिमागलाई यसरी मन्थन गरिदिनु भयो कि या त त्यो सिद्धान्तहरू सवै परिवेशको लागि सान्दर्भिक थिएनन् या त आज आएर आउट–डेटेड भए । किनकी साधारण तवरले बुझ्ने हो भने तपाईंले अवलम्वन गरिरहनु भएको विकास को सिद्धान्तले त आवश्यकता पहिचानको लागि कुनै टुल्स चाहिदैन समस्या भोगेको जनता नै वास्तविक योजनाकार हो भन्छ । अनि दाजु, Putting people first होइन नेतृत्वकर्ताले आफू फिल्डमा उत्रेर जनतालाई विकास कार्यमा सहभागी हुनलाई प्रभावित र प्रोत्साहन गर्नु पर्छ भन्ने आयाम स्थापना गर्दै हुुनुुहुुन्छ । 

तपाईले अवलम्वन गर्नु भएको विकासको आयामले नतिजा त ल्याएकै छ तथापी तपाईंलाई विरोध गर्ने र मुद्धा हाल्नेहरू पनि धराने नै भएको कुरा हजुर को स्टाटसबाट थाहा हुन्छ । उक्त विषयमा धेरै जानकार त म होइन तर तपाईंको विकासको आयामको फ्यान भएको नाताले अनुमान गर्दा कतै उहाँहरू पनि अमिल्दो विकासको आयामसँग धराने विकास पद्धतिलाई तुलना गरिराख्नु भएको हो कि ? राजनितीक र वैचारीक विमेल हो भने तपाईं त स्वतन्त्र हो । कुनै राजनितिक वाद भन्दा पनि श्रम–वादमा लागेको सँग विमेल त नहुनु पर्ने हो । राजनितिक तवरको विरोध र विमेल हो भने राजनिती त मलाई “र” पनि थाहा छैन र थाहा हुन नि नपरोस किनकी तपाईं जस्तै सादा जीवन जिउने ठूलो सपना छ । तपाईंलाई विरोध गर्नु, कमी कमजाेरी देखाएर गलत सावित गर्न खोज्नु को अर्थ तपाईं सही मार्गमा हुनुहुन्छ । किनकी काम गर्ने ले नै गल्ती गर्ने हो, कामको प्रतिफल आए पछि तुलना गरेर कमजाेरी थाहा हुुने हो । 


दाजु, हामी त मुन्धुममा बाँधिएर प्रकृतिसँग अटुट सम्बन्ध गाँस्दै जीवन जगतलाई तेही प्रकृतिमा मिसाउने समुदायको परियो । तपाईले श्रमवार को दिन वोक्नु भएको ढुुङ्गा त हामी जन्मेर न्वारन गर्दा तिनचुलोलाई साक्षी राखेर नामाकरण गर्ने देखी मरण पश्चात गाड्ने वेला सिरानी राखेर अन्तिम संस्कारसँग जोडिएको पवित्र वस्तु हो । तपाईंले खन्नु भएको, बाेक्नु भएको माटो त पैदा हुदा आमाको काख पछि पहिलो पटक टेकिने पवित्र धरती थाम्ने, खेती–पाती, वाली–नाली देखी उद्यौली–उभौलीमा घर पोत्ने र मृत्युु वरण पछि पार्थिव शरीर लाई पुर्नको लागि अनिवार्य चाहिने वस्तु हो । त्यही ढुङ्गा र माटोलाई विकास र संस्कृतिसँग जोडर समाज सेवा गर्नु कति अर्थपूर्ण कार्य हो जुन कुरा यो पत्रमा लेखेर साध्य छैन । यसरी जन्म, मृत्यु, आत्मा, परमात्मा देखी गाँस र वास सम्म जोडिको ढुुङ्गा माटो छोएर गरिने विकासले मन–मस्तिष्क सम्म छुन्छ र त अपनत्वको भावनासँगै राष्ट्र प्रेम जागृत हुन्छ भन्ने तपाईंको सोचलाई म कुनै विद्वानको विकास सिद्धान्तसँग तुलना गर्न सक्दिन । 

अन्त्यमा तपाईंले प्रकृतिसँग समाहित हुदै अपनाईरहनुु भएको विकासको आयामले विश्वविद्यालयमा चाँडै नै एक मुल विषयको रूपमा प्रवेश पाओस र उक्त विषयको अध्ययन पछि विश्वविद्यालयबाट लाखौँ हर्क साम्पाङहरू दीक्षित होउन । जुन हर्क साम्पाङ्गहरूले सबै स्थानीय तहलाई धरान जस्तै नेतृत्व प्रदान गरून । तपाईंको पाईला कहिले नथाकोस, नरोकियोस यही शुभेच्छा सहित मेरो कलम बन्द गर्छुु । 

उही तपाईंको शुुभ चिन्तक भाइ,

वसन्त राई,
हाल पोखरा । 
 

प्रतिकृया दिनुहोस

 झोले हुन पाँउ

आरुबोटे काका आत्तिदै मेरो घर आउनुभो । स्वाँ स्वाँ गर्दै निक्कै हतारिंदै कपाल कन्याउँदै भन्नुभो-लौ अन्तरे मेरो एउटा निवेदन लेखिदेउ । पाटीमा चढाउनु परो

यस वर्षको बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

पाँचथर । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रूपमा यस वर्षको बडादसैँको टीका र जमरा

प्रविधिमैत्री शिक्षाको आवश्यकता

कुनै पनि प्रविधिको प्रयोग गरी दिइने वा हाँसिल गरिने शिक्षा प्रविधिमैत्री शिक्षा हो । कुनै पनि देशको शिक्षा नीतिले आफ्नो देशको राष्ट्रिय