आशन ग्रहण – व्यङ्गलेख

शालिक भट्टराई अन्तरे, खोटाङ्ग, हाल पाँचथर

गाउँमा काकाको राम्रै इज्यत थियो । चुनाव जित्न उस्तो प्रयत्न गर्नु परेन तर, उहाका अनुसार चुनाउमा लोभीपापीले अलिअलि खर्च गराए । चुनाउताका साँझ विहान पोष्टर टाँस्न, घरदैलोमा खटेका केटाहरु र आसेपासेका लागि खाजापानी खर्च त्यस्तै चालिस पचासलाख कोलवोटे काकाले खर्च गरेको गाउँलेले उबेला लख काटेका थिए । काका गाँउमा त्यसै लोकप्रिय भएका भने होइनन् । उनले गाँउघरमा जस्तो सुकै सारोगाह्रो पर्दा रातबिरात कामकाटेकै हुन । साँच्चो भन्नुपर्दा गाउँका युधिष्ठिर नै हुन उनी । फलस्वरुप पहिले काका समाजसेवी थिए भने अहिले पाटीबाट चुनाव जितेसी नेता भएकाहुन । 

आफ्नो पालिका क्षेत्रमा कोलबोटे काका नपुगेको कुनै कार्यक्रम नै हुँदैन । उनी एकातर्फ जनताका प्रतिनिधी अर्को, गाँउका लोकप्रिय समाजसेवी । स्थानीय तहले सवारी साधन समेत उपलब्ध गराएपछि टोल छिमेकका कार्यक्रममा सहभागिता बढेको छ । काकाले कार्यक्रम छुटाउने कुनै कारण रहँदैन । गाँउका महिला सुत्केरीहुँदा भेट्न अस्पताल देखि कोही पनि मर्दा लास जलाउन घाट सम्म पुग्छन । साँचो भन्नु पर्दा बिहान सखारै देखि राती एघार बज्दा सम्म सिलान्यास र उद्घाटन, जन्म, बिहावारी र मृत्यु संस्कार अनि विकासका पुलिन्दा बोकेर दौडिरहन्छन काका । उनको यो दौडाईको अर्थ हिजोआज उनकी श्रीमती पातलीले पटक्कै बुझेकी छैनन । पातली कहिले काँही आफ्नो बुढोलाई झोक्किदै सोध्छिन,।।।। किन कता कुदेका ए बुढा रु तिमीले मात्रै आकाश थाम्नु पर्छ हँ रु 


विकास निमार्णका कार्यक्रममा सहभागी भैरहने क्रममा, आज काकालाई गाउकै चिउरीधारो उद्घाटन गर्न दिउँसोको एकबजेको समय दिएर प्रमुख अतिथीको रुपमा निम्तो आयो । प्रमुख अतिथीले कार्यक्रम स्थलमा अलि ढिलो पुग्नुपर्छ, भन्ने कुरा नेपाल देशका माथिल्लो तहका मन्त्री, माननीय, पाटीका बरिष्ठ नेताबाट समेत उनले पत्तो पाएका थिए । चिउरीधारोमा पैतालिस मिनेट ढिलो पुग्दा आयोजक, सहभागी, अन्य अतिथीगण सबैले प्रतिक्षा गरिरहेकै थिए, जो आम चलन छ । उनी अलि अररो अलि गमक्क अर्थात, प्रमुख अतिथी जस्तै–जस्तै भएर पुगे । 
आयोजकले गच्छे अनुसार भनौ, अहिले नेपाली समाजमा चलेको चलन अनुसार माला, खादा, अबिर धजापताकाले स्वागत गरे । कार्यक्रम उद्घाटनका लागि बनाईएको मञ्चमा गलाभरी माला लगाएर कोलबोटे काका गज्जक्क परेर बिचको कुर्सीमा घ्याच्च बसे । खोरियागाँउ निक्कै दुर्गम गाँउ हो । यहाका बासिन्दाहरुले घण्टौ लगाएर टाढाबाट डोकोमा गाग्री बोकेर पानी ल्याएर खाने गर्दछन् । पानी टाढाभएकै कारणले यस गाउँका किसानले गाईवस्तु पाल्न समेत सकेका छैनन । जिविकोपार्जनको मुख्य पेशा कृषि भएपनि लामो समय देखि खानेपानीको अभावमा यस गाउका बासिन्दा पिल्सिएको अवस्था हो । गाँउका केहि युवा बैदेशिक रोजगारीमा त, कोहीयुवा शहरी रोजगारीमा गए । उनीहरुबाट समेत स–सानो सहयोग रकम उठाई पठाए । स्थानीय तहमा काका जन–प्रतिनिधी भएपछि केहि रकम उनले पालिकाबाट समेत व्यवस्था मिलाए । फलस्वरुपः घण्टौ टाढाको मुहान देखि पाईपबाट पानी ल्याईयो । आज हर्षबढाई सहित चिउरीको ठुलो रुखमुनी पानीको धारा निमार्ण गरिएको छ । चिउरीको बोट नजिकको धारा लगभग गाउँका सबैको लागि पायक पर्ने ठाउँ जो थियो । 


उक्त धारा उद्घाटन समारोहका उद्घोषक औधी नै हौसिदै भन्दै गएः–आजका हाम्रा प्रमुख अतिथी ज्यूको आगमन भईसकेकोछ । उहाँ हाम्रो एउटा भाग्य विधाता हो, अन्नदाता हो, हाम्रो प्राण हो, हामी उहाँको लामो प्रतिक्षामा खासै बस्न पर्यो रु ।।।।।।।परेन । हाम्रो प्रतिक्षाको घडी अब पुराभएको छ, प्रमुख अतिथी अर्थात काकाको स्तुतिमा झण्डै पचपन्न मिनेट खर्चिए । हामी छिट्टै चिउरीधारोको उद्घाटन गर्नेछौ । अब म कत्ति पनि विलम्ब नगरी कार्यक्रमलाई अगाडि बढाउँछु । 
उद्घोषक आफ्नो काममा ठसठसी कन्दै, सक्रिय हुँर्दै गएः– धारो निमार्ण उपभोक्ता समितिका संयोजक जुनकिरीलाई सभापतिको आसन ग्रहण गराउँदछु । यसैगरी प्रमुख अतिथीमा कोलबोटे काका जो हाम्रो वडाअध्यक्ष पनि हुनुहुन्छ उहाँलाई आशन ग्रहणको लागि उच्च सम्मानका साथ अनुरोध गर्दछु । अन्य विशिष्ठ अतिथीमा टोल विकास समितिका अध्यक्ष मोहित गुरुज्यु, अझ बिशिष्ठ अतिथीमा गैरीधारा उपभोक्ता समितिका सभापति थापाकाजी ज्यू, अर्का बिशिष्ठ अतिथीमा झाडीखोल्सी फडान समितिका संयोजक हस्त मर्दिनी ज्यू, अर्का बिशिष्ठ अतिथीमा तरकारीको उपज खरिद बिक्रीका बिचौलिया संघका अध्यक्ष पाघ्रीघरे बडाज्यु । 
अब विशेष अतिथीको आसन ग्रहण गराउँन गईरहेको छु, उद्घोषकले प्रत्येक बिशिष्ठ, बिशेष अतिथी ज्यूहरुको व्यक्तित्वका विषयमा दश–दश मिनेट समय खर्चिदै भट्याउँदै गए । कार्यक्रमको सभापतित्व गरिरहेकी जुनकिरीले उदघोषकलाई समय( समयमा बोलाउँदै अतिथीहरु आशन ग्रहणमा नछुटुन भनेर नाम दिंदै गईन । उनले कार्यक्रमलाई अझ विस्तारै गति दिएः– विशेष अतिथी हरुमा क्रमशः अघोरी बावा आश्रमका सिद्धवावा ज्यु, अर्का अतिथीमा महिला आन्दोलनकी अगुवा जेलनेल भोगेकी हाम्री गाउँकै अझ देशकै अगुवा महिला सानी मिठ्ठीज्यू, बाढी आएको बेला भिरकोटबाट सालका टुना खोलामा बगाई तल केटा खटाएर संकलन गर्ने समितिका संयोजक पाखुरे कान्छा ज्यू,  टिकटक समूह भिउज संकलन तथा कमेण्टको तथ्यांक संकलन समिति संयोजक पुतली भाउज्यू ज्यू, बाटो निमार्ण तथा माटो ओसार पसार एवं खाल्डो निमार्ण उपभोक्ता समितिका अध्यक्ष केवल किशोर ज्यू, पल्लो गाउँमा रहेको सामुदायिक बिद्यालयका शिक्षक तथा शिक्षकको पीर व्यथालाई सरकार सँग बरोवर आवाज बुलन्द गर्ने, संघर्ष गर्ने समितिका अध्यक्ष शिक्षितपाध्या ज्यू,  फेसबुकबाट भाइरल डाटा र फोटोहरु पोष्ट गर्ने फेसबुक स्किलका सञ्चालक सलिम अख्तर ज्यू, बैदेशिक रोजगारको बाटो देखाई नेपाल भारतका स–साना सिमानाकाको बाटो हुँदै खाडी र अफ्रिकी मुलुकका रेष्टुरा सम्म नरनारी सप्लायर कम्पनीका अध्यक्ष बाँसबोटे ज्यू, मुलुकको सिमा वारपार सामाग्री ओसार पसार युनियनका अध्यक्ष जुनुन ज्यू,  सिताराम भजन मण्डली किर्तन समूहका अध्यक्ष सुनझाँक्री ज्यू, मेची महाकाली हरेराम हरेकृष्ण पैदल जागरण समितिका अध्यक्ष योगी सिद्धबावा ज्यू, ।


उद्घोषकले अतिथी आसन ग्रहण गराउँदै गएः–डेङ्गुरोग निवारण संस्था झुल नवितरण समितिका अध्यक्ष अक्षम ज्यु,    सरकारी जग्गामा सुकुम्बासी छाडेर हुकुमबासी बस्ती बसाउन अग्रणी भूमिका निर्वाह गर्ने समाजसेवी निलाहारी ज्यु, पुरुष सरह अधिकार प्राप्ती आन्दोलनकी महिला प्रणेता मन्थरा ज्यू,  पुराना मोटरसाईकल रिप्लेस गरी नयाँ उपहार सहित बिक्री वितरण चाँजोपाँजो गर्ने रिप्लेयर सुवर्ण ज्यू,  समय अनुसारको बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक सञ्चालक कुलेलम ज्यू,  सप्ताहमै दुईपटक टोलका केटाहरुलाई भेला गराई रकम उठाएर विभिन्न आन्तरिक पर्यटनमा झोल तथा ड्राईफुड दानापानी सहित भिरकोटका रमणीय स्थलमा दृश्यावलोकन गराउने पर्यटन प्रवर्धनका संयोजक कान्छा हजुर मनोरञ्जनज्यू, साँध सिमानामा झै झगडा भई गाउँमा कोलाहल मच्चिदाँ अझ उत्साहका साथ उक्साउने समाजसेवी झिगंटीघरे सानुकान्छा ज्यू, । 

यता प्रमुख अतिथी कोलबोटे काकालाई अर्को कार्यक्रममा जानुपर्ने भएर पुरै छट्पटाउँन थालिसकेका थिए । समारोह स्थल अगाडिका मानिस लगभग सकिएका थिए । पट्यारलाग्दो आसन ग्रहणले सबैजना बेचैन बनिरहेका थिए । प्रमुख अतिथि काकाले अध्यक्ष तर्फ हेरेर भने,– के सबै सबै आसन ग्रहण गराउनै पर्ने हो र रु अगाडिपट्टीका सहभागी त सकिए, धारा समितिका अध्यक्ष ज्यू रु  कार्यक्रमकी अध्यक्ष जुनकिरीले भनिनः– के गर्ने हजुर, बल्ल बल्ल हामीले गरेको यो कार्यक्रममा हामीले बोलाएका अतिथीलाई मर्यादा त गर्ने पर्यो नि हैन रु आशन ग्रहणको यो रीतिरिवाज त हजुरहरुले नै सिकाएको त हो नि कि कसो रु  प्रमुख अतिथी काका रिसले अझ चुरभए, उठौ कि बसौ कि बेचैन हुँदै छटपटाए, । उनको छटपटी सहज रुपमा बुझ्न सकिन्थ्यो ।
उद्घोषकले नाम लिईरहँदा र मञ्चमा थपिएका मानिसको जमातले मञ्च अलि मज्जैले कम्पन हुन थाल्यो । कमसल सामाग्रीले बनाएको मञ्च केहि डगमगायो । अझै केहि अतिथीहरु चिउरीधारो तर्फ आउँदै थिए । उद्घोषकले अगाडी बसेका सहभागी हेरे, अगाडी एउटी शुष्त मनस्थितीकी महिला र उनको काखमा खेलिरहेको सानो दुधे वालक मात्र बाँकी थिए । उनले कार्यक्रमको अध्यक्षता गरिरहेकी जुनकिरी तर्फ हेरे । जुनकिरीले अलिटाढा बाट कार्यक्रम तर्फ आईरहेका केहि अतिथीहरु तर्फ इसारा गरिन ।

अझै आउन बाँकीलाई पनि अतिथी आसन ग्रहण गराउनु भन्ने उनको आशय थियो । यतिबेला सम्म साँझ झम्मक भईसकेको थियो । प्रमुख अतिथी, बिशिष्ठ अतिथी र अतिथी गणलाई खादा(माला लाउन बाँकी नै थियो । खादा माला लाउने मानिस सबै अतिथीको रोहमा आसनमा मञ्चासिन भईसकेका हुनाले खादा र माला लगाईदिन अध्यक्ष जुनकिरी आफै अघि सरिन । त्यतिकैमा दुइजना मानिस समारोह स्थलमा आईपुगे । ति मध्ये एकजना बैदिक सनातनी धर्म समितिका अध्यक्ष धर्मानन्दपाध्या र अर्का बिरौटेखेत सामुहिक खेती सञ्चालन समितिका अध्यक्ष साहिँला फुपाज्यू ।


 ति दुबैजनालाई अतिथीको आशन ग्रहण गराउन कार्यक्रमका अतिथी जुनकिरीले उद्घोषक तर्फ इसारा गरिन । उद्घोषकले नाम बोलाएपछि दुबैजना मञ्चमा चढेका मात्र के थिए, मञ्चले भारबहन गर्न सकेन । मञ्च एक्कासी बुम्राङ्ग भई मञ्चासिन सबै मञ्च सहित भूँईमा पछारिए । 
मञ्चको अघिल्तिर बसेकी एकमात्र अडियन्स बृद्धअवस्थाकी महिला, र सानो बालक मात्र रहेका थिए । आशन ग्रहणको हैसियतमा नपरेकीले मञ्चबाट लडेका मानिसहरुको यो दृश्यलाई मज्जैले हेरिरहेकी थिइन । उनको नाति दुधमुखे त्यो वालकले, मुखबाट र्यालझार्दै फिस्स मुँस्कुरायो । डोकोमा कुच्चिएको गाग्री बोकेर आएकी ति महिला अरु कोहिनभएर कोलबोटे काकाकी आफ्नै आमा थिइन । अर्थात त्यस कार्यक्रमको प्रमुख अतिथीकी आमा, जो घर नजिकैको धारा उद्घाटन होला अनि  गाग्री भरेर घरमा पानी लैजाउँला भनेर  आएकी थिइन । चिउरीधारो उद्घाटनको काम आज पनि अधुरै रह्यो । 
 

प्रतिकृया दिनुहोस

 झोले हुन पाँउ

आरुबोटे काका आत्तिदै मेरो घर आउनुभो । स्वाँ स्वाँ गर्दै निक्कै हतारिंदै कपाल कन्याउँदै भन्नुभो-लौ अन्तरे मेरो एउटा निवेदन लेखिदेउ । पाटीमा चढाउनु परो

यस वर्षको बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

पाँचथर । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रूपमा यस वर्षको बडादसैँको टीका र जमरा

प्रविधिमैत्री शिक्षाको आवश्यकता

कुनै पनि प्रविधिको प्रयोग गरी दिइने वा हाँसिल गरिने शिक्षा प्रविधिमैत्री शिक्षा हो । कुनै पनि देशको शिक्षा नीतिले आफ्नो देशको राष्ट्रिय