कोरोना उपचार गर्ने मुख्य अस्पताल टेकुका प्रमुखको गुनासो : ‘समन्वयको यस्तो अभाव छ, संक्रमितका परिवारको समेत कोरोना टेस्ट भएको छैन’
डा. सागर राजभण्डारी निर्देशक, टेकु अस्पताल
नेपालमा अहिले कोरोना संक्रमित एकजना मात्रै छन् । तर, टेकु अस्पतालका आइसोलेसन बेड सबै भरिए ? देशको एउटा मात्रै सरुवारोग अस्पतालको यो अवस्था कसरी भयो ? हाम्रो तयारी यति फितलो थियो ?
प्रमाणित केस एउटा मात्र हो । तर, अवस्था त्यस्तो मात्र होइन । विमानस्थल र सीमानाकाबाट आउने हजारौँ यात्रुको ज्वरो मात्रै परीक्षण गरियो । ज्वरो भएका व्यक्तिलाई अस्पताल ल्याएर क्वारेन्टाइनमा पनि राखियो । तर, जसलाई ज्वरो देखिएको थिएन, उनीहरूलाई ‘होम क्वाइरेन्टाइन’को नाममा घरघर जान भनियो । अन्य देशमा त्यस्ता यात्रु सबैलाई १४ दिन क्वारेन्टाइनमा राख्ने गरिन्छ, नेपालमा राखिएन । घर गएपछि पनि मान्छेलाई ज्वरो आउन सक्छ, लक्षण देखिन सक्छ । यसको उदाहरण हो, फ्रान्सबाट आएकी युवतीमा कोरोना पुष्टि हुनु । उनी विमानस्थलबाटै आएकी हुन्, ज्वरो थिएन । तर, उनलाई संक्रमण भइसकेको थियो । त्यसैले नेपालमा अरू पनि संक्रमित छन् जो अस्पतालको निगरानीबाहिर छन् भन्ने बुझ्न सकिन्छ ।
संक्रमणको आशंकामा कतिजना अस्पतालमा छन् ? उनीहरूको अवस्था के छ ?
अन्य अस्पतालले ज्वरो, रुघाखोकीका बिरामीसमेत नलिएपछि टेकु अस्पतालमा चाप बढेको हो । यी बिरामीलाई हामीले अवस्था हेरेर क्वारेन्टाइनमा राख्ने गर्छौँ । लक्षण मिल्नेजस्तो देखिए आइसोलेसन गर्दै आएका छौँ । कोरोना आशंकामा अहिले १६ जनामाथि हाम्रो निगरानी छ । । १० जना क्वारेन्टाइनमा छन् । पाँचजना आइसोलेसन र एकजना आइसियूमा भर्ना गरिएको छ । हामीस“ग आइसोलेन बेड नै अहिले पा“च मात्रै थिए, ती भरिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई कोरोनाको मात्रै उपचार गर्ने अस्पताल भनिएको छ । त्यसैले बिरामीको संख्या क्रमशः बढ्दै गएको छ, शंका लागेका बिरामी देशभरबाट रेफर भएर यहीँ आएका छन् । चाप धान्न गाह्रो भएको छ ।
फ्रान्सबाट आएकी संक्रमित बिरामीका परिवारको कोरोना टेस्ट भयो कि भएन ? त्यो पनि अनिवार्य छ होला नि ?
हामीलाई परिवारको पनि त्यत्तिकै चासो छ । संक्रमितका बाबुसँग कुरा भएको छ । उनीहरूलाई परीक्षण गर्न स्वास्थ्यकर्मीको टोली जानुपर्छ, तर अहिलेसम्म गएका छैनन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई बिहानदेखि परिवारको स्क्रिनिङमा जाऊ भन्यौँ, तर उनीहरू रुघा लागेको छ, टाउको दुखेको छ भनेर गएनन् । नमुना ल्याउन धेरै ढिला भइसकेको छ ।
यति गम्भीर विषयमा त सरकारको पनि चासो होला नि, संक्रमित भेटिए भनेर त सरकारले ठूलै पत्रकार सम्मेलन गरेको थियो, अब उनका परिवारको कोरोना टेस्ट गर्न किन यस्तो लापरबाही ?
कोरोनाविरुद्धको युद्धमा स्वास्थ्य सिपाही खटिएका छन् । तर, सबैको समन्वय भएको छैन । मन्त्रालय, विभागकामहत्वपूर्ण बैठकबारे हामीलाई जानकारी नै हुँदैन । सम्बन्धित निकायमा जिम्मेवारीबोध भएको पाइएन । आइतबार कोरोना पुष्टि भएकी युवती ल्याउने, भर्ना गर्ने, नमुना संकलन गर्ने काम टेकु अस्पतालको थियो । उनी हाम्रो निगरानीमा भएकी हुनाले उनको रिपोर्टबारे पनि हामीलाई खबर हुनुपथ्र्यो, थप सतर्कताका लागि पनि त्यो आवश्यक थियो । तर, रिपोर्ट हामीलाई नदिई सीधै मन्त्रालय लगियो । मन्त्रालयले बिरामीमा पोजेटिभ देखियो, तत्काल ल्याएर भर्ना गर भन्ने आदेश दियो । रातारात गरेर बिरामी भर्ना गरियो ।
कोरोना नियन्त्रणका लागि सरकारीस्तरमा विभिन्न समिति बनेका छन्, ती समिति र सरकारी विभाग के गर्दै छन् ?
यसवेला जिम्मेवार निकायबीच समन्वय आवश्यक पर्छ । तर, हामीबीच समन्वय नहुँदा काम गर्न निकै कठिन भएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, टेकु अस्पताल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, व्यवस्थापन महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबीच नै राम्रो समन्वयको खाँचो देखिएको छ । समय अझै छ, सबैको समन्वय भएमा हामीलाई काम गर्न सहज हुने थियो । अहिले पनि क्वारेन्टाइन र आइसोलेसनमा भर्ना भएका व्यक्तिको रिपोर्ट ढिला आउने गरेको छ । त्यसले पनि अस्पतालमा चाप बढ्छ । अहिलेसम्म नेपालमा पनि दुई संक्रमित देखिए । एकजना त चीनको वुहानमा महामारी फैलिनासाथ नेपालमा पनि भेटिएका थिए । उनी उतैबाट आएका थिए, उपचारपछि निको भएर घर गएका छन् । अहिले प्रमाणित संक्रमित एकजना मात्र हुन् ।
अस्पतालमा अक्सिजन मौज्दात कति छ ?
अस्पतालमा पुराना चार आइसियू बेड थिए । नया“ २० आइसियू बेड थपिँदै छन् । आइसियू भेन्टिलेटर व्यवस्थापनका लागि आवश्यक उपकरण पनि आइसकेका छन् । अब मुख्य चाहिने भनेको अक्सिजन प्लान्ट हो । यसको व्यवस्थापन गर्न चार महिना लाग्छ । उपकरण विदेशबाट ल्याउनुपर्छ । २० आइसियू बेडलाई १० वटा भेन्टिलेटर चलाउनुपर्छ । अहिले नै हरेक दिन १० देखि १२ अक्सिजन सिलिन्डर खपत हुन्छ । बिरामी बढेर सबै आइसियू चलाउनुपरे अहिलेको मौज्दातले चार घन्टाभन्दा बढी धान्न सकिँदैन । कोरोना देखिएलगत्तै यसको व्यवस्थापन गर्नुपर्ने थियो । तर, टेकुमा आइसियू नै थिएन । त्यसैले पनि प्रक्रियागत रूपमा ढिला भएको हो । अहिले तत्काल आइसियू थपियो, अब अक्सिजन भारत र जर्मनीबाट ल्याउनुपर्छ । चीनबाट भए पनि अहिले तत्काल अक्सिजन सिलिन्डर ल्याएर काम भइरहेको छ । तर, आइसियूमा बिरामी बढे समस्या हुन्छ ।
चीनको वुहान लकडाउन भएर विश्वको ध्यान आकृष्ट भएको ६५ दिन भयो, अस्पताल र सरकारले के तयारी गरिरहेका थिए अहिलेसम्म ?
सरकारले कोरोना उपचार गर्न पा“च अस्पताललाई तयार हुन निर्देशन दिएको थियो । उपचारका लागि टेकुमा ४० बाहेक वीर, पाटन, सशस्त्र प्रहरी, सैनिक अस्पतालमा २०–२० गरी जम्मा एक सय २० आइसियू बेड थप गर्ने निर्णय भएको हो । २० आइसियू बेड जिम्मा लिने अस्पतालमा चारजना एनेस्थेसिया विशेषज्ञ, चार क्रिटिकल केयर र इन्टरनल मेडिसिन विशेषज्ञ, १६ मेडिकल अफिसर, आठ नर्सिङ अफिसर, सय स्टाफ नर्स, १० प्रशासनिक कर्मचारी र १५ जना कार्यालय सहयोगी गरी जम्मा एक सय ५६ जना कर्मचारी चाहिने हो । त्यसका लागि स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र अस्पतालले समेत कर्मचारी माग गरेका छन् । तर, कर्मचारी सेवामा आबद्ध हुन इच्छुक छैनन् । सरकारले छात्रवृत्तिमा पढ्दै गरेका चिकित्सक पठाउने भनेको छ । सरकारसँग देशभर ११ सय ६६ चिकित्सक र २९ सय नर्स छन् । तिनलाई कसरी परिचालन गर्ने भन्ने पनि होला । तर, सरकारले बिरामीका लागि क्वारेन्टाइन र आइसोलेसनको तयारी गरे पनि उपचारमा खटिएका स्वास्थ्यकर्मी नै बिरामी परे भर्ना गर्न छुट्टै आइसियू र आइसोलेसनको व्यवस्था गरेको छैन ।
अस्पतालको नियमित सेवा के भइरहेको छ अहिले ?
अहिले विश्वभर कोरोनाको महामारी छ । त्यसैले हाम्रा नियमित सेवालाई अन्तै विस्तार गर्न स्वास्थ्य सेवा विभागसमक्ष प्रस्ताव गरेका थियौँ । किनकि अहिले पनि कुकुरले टोकेका दिनमा तीन सयसम्म बिरामी रेबिज सुई लगाउन आइरहेका छन् । ती व्यक्तिलाई अहिले टेकु आउनु पनि जोखिम हो । त्यसैले उनीहरूलाई बाहिरै खोप लगाउने व्यवस्था गरौँ भन्ने प्रस्ताव हामीले स्वास्थ्य सेवा विभागमा गरेका थियौँ, तर सहयोग भएन । कर्मचारी व्यवस्थापन गर्न खोज्दा पनि सहयोग भएन । हामी निराश भयौँ ।
यसवेला कोरोना संक्रमणबाट कसरी सुरक्षित रहने ?
यस्तो अवस्थामा कोरोना लागेको होस् वा नलागेको होस्, सोसल÷फिजिकल डिस्टेन्समा ध्यान दिनुपर्छ । हामी सबैका गतिविधि त्यसमा सीमित हुनुपर्छ । एक मिटरभन्दा परको दूरी कायम गरे संक्रमण हुने दर कम हुन्छ । हावाको माध्यमबाट सर्दैन, तर कसैले हाच्छ्युँ गर्दा वा खोक्दा सर्ने हुँदा एक मिटरको दूरी कायम गर्नुपर्छ । हाच्छ्युँ गर्दा वा खोक्दा रुमालले मुख छोप्ने साथै टिस्यु पेपरले पुछ्ने गर्नुपर्छ । हरेक वस्तु छोएपछि स्यानिटाइजरले धुने, उपलब्ध नभए साबुनपानीले राम्रोसँग हात धुनुपर्छ । स्यानिटाइजर लगाएपछि नजिकै आगो बाल्नुहुँदैन । स्प्रिट हुने भएकाले जल्ने सम्भावना हुन्छ । कफ भएको छ भने घरेलु उपचारबाट निको हुन्छ । यस्तोवेला बिरामीले प्रशस्त मात्रामा झोलिलो पदार्थ खानुपर्छ । टाउको दुखेमा सिटामोल खान सक्नुहुन्छ, यति हुँदा पनि समस्या भएमा चिकित्सकको परामर्श आवश्यक पर्छ ।
ईश्वर पोखरेल भन्छन्–डाक्टरहरू के–के भन्छन्, मैले बुझेको छैन
ईश्वर पोखरेल उपप्रधानमन्त्री तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितिका संयोजक कोरोना भाइरस नियन्त्रणको सम्बन्धमा सरकारले गरेको तयारीको विषयमा
पत्रकार कुटपिट लाजमर्दो घटना हो
जनकपुरधाम उपमहानगरपालिकामा मेयरकै उपस्थितिमा पत्रकारहरूलाई कुटिएपछि नगरपालिकाको कामकाजको चारैतिर आलोचना भइरहेको छ । पत्रकारहरू आन्दोलित छन् ।
'शेयर बजारको बढ्दो कारोबारमा सूक्ष्म अध्ययन हुँदै छ'
पछिल्लो ६ कारोबार दिनमा सेयर बजारमा करिब साढे २३ अर्ब रुपैयाँको कारोबार भएको छ । १ महिना अघिसम्म दैनिक ५० करोड रुपैयाँ बराबरको कारोबार हुने गरेकामा





प्रतिकृया दिनुहोस