BSC FM live


कस्तो हुनुपर्छ लिम्बू चलचित्र ?


सागर केरुङ

उठान ः

खस भाषाको चलचित्रहरू मात्र बनिने गर्दथ्यो नेपालमा । वि.स.२००८ मा प्रदर्शित “सत्यहरिशचन्द्र” र २०२२ मा प्रदर्शित “आमा” देखि २०४३ मा प्रदर्शित “बिश्वास“ सम्म निरन्तर रूपमा चलिरह्यो । २०४४ सालमा नेवाः भाषाको “शिलु”चलचित्र निमार्णले यसको क्रमभंगता गरिदियो । नेपालमा आदिवासी जनजाति मातृभाषामा निमार्ण गरिएको पहिलो चलचित्र हो शिलु ।
शिलु प्रदर्शन हुँदासम्मको अवस्थामा संख्यात्मक रूपमा सत्यहरिशचन्द्र, आमा, माइतीघर, परिवर्तन, हिजो आज भोलि, मनको बाध, कुमारी, सिन्दुर, जिवनरेखा, वदलिन्दो आकाश, जुनि, कान्छी, आर्दश नारी, के घर के डेरा, कुसुमे रुमाल, बासुदेव र विश्वास गरि जम्मा १७ वटा मात्र प्रदर्शन भइसकेको अवस्था थियो । थारु भाषाको चलचित्र “करम” नेवाः भाषाको राजमती, चिपःनिपः, ख्यापा न्हिला न्हिला हँु, पछि लिम्बू चलचित्र तरेबा २०४८ बन्यो । तरेबा पहिलो लिम्वु चलचित्र हो । अहिले सम्ममा छोटो तथा लामो गरि करिब २५ वटा लिम्बु चलचित्रहरू निर्माण भइसकेको छ ।

विकासक्रम ः

वि.स. २०४८ सालमा नेपाल टेलिभिजनबाट प्रसारित “तरेबा” लिम्बू भाषामा निर्मित पहिलो आधिकारीक चलचित्र हो । लिम्बू चलचित्रहरूको निमार्ण क्रम तपशिल बमोजिम रहेको छ ः
१) नविन सुब्बा निर्देशित तरेबा २०४८÷०४९
२) किशोर सुब्बा निर्देशित तुम्दङ २०५१÷०५२
३) प्रताप सुब्बा निर्देशित थत्थामा २०५३÷०५४
४) किशोर सुब्बा निर्देशित आनिसाक्थीम २०५४÷०५५
५) समिर आङबुङ निर्देशित मासेमी २०५६÷०५७
६) नविन सुब्बा निर्देशित नुमाफुङ २०५७÷०५८
७) एच.वि.डिकेट निर्देशित लुङमातुकिल्ले २०५८÷०५९
८) दुर्गा नेम्बाङ निर्देशित खापुना मोरङना २०६०÷०६१
९) मलिशा थाक्थुङबा निर्देशित सेमाङलेफुङ २०६३÷०६४
१०) मौसम इम्बुङ निर्देशित चेसुङ ¬¬२०६३÷०६४
११) सुर्यप्रकाश चेम्जोङ निर्देशित माराम २०६४÷०६५
१२) गोविन्द इम्सङ निर्देशित सिसाम २०६५÷०६६
१३) अरुण प्रधान निर्देशित फुङवामा २०६५÷०६६
१४) किशोर सुब्बा निर्देशित लाजेरेन थोक्ला २०६७÷०६८
१५) रवि शेर्मा निर्देशित क्येबा कोक्मा २०६९÷०७०
१६) सागर केरुङ निर्देशित पुङसाम (लघुचलचित्र) २०७०÷०७१
१७) किशोर सुब्बा निर्देशित अम्लारीफुङ २०७०÷०७१
१८) सुर्यप्रकाश चेम्जोङ निर्देशित पेको?सामा (लघुचलचित्र)२०७०÷०७१
१९) विष्णु सिङघक निर्देशित माङगेन्ना खमा (लघुचलचित्र)२०७१÷०७२
२०) सागर केरुङ निर्देशित तुम्याहाङ (लघुचलचित्र) २०७२÷०७३
२१) किशोर सुब्बा निर्देशित हेल्लुक्वा २०७२÷०७३
२२) सागर केरुङ निर्देशित के २०७४÷०७५
२३) लोकेन साम्बा निर्देशित के साङला २०७४÷०७५
२४) किशोर सुब्बा निर्देशित साम २०७५÷०७६
२५) किशोर सुब्बा निर्देशित थेत्लङ २०७५÷०७६
(लिम्बू भाषा तथा संस्कृतिलाई आधारमानी निर्माण शुरु भएर बजारमा आउन नसकेका थुप्रै चलचित्रहरू पनि छन् । जसको खोज अनुसन्धान तथा अध्ययन भइरहेको छ ।)
लिम्बु चलचित्र निमार्णक्रम रफ्तारमा अघि बढिरहेको छ । लिम्वू चलचित्रहरूले राष्ट्रिय÷अन्तराष्ट्रिय महोत्सवहरूमा विभिन्न पुरस्कारहरू हात पार्दैै आएको छ ।

लिम्बू चलचित्र र लिम्बू भाषाको चलचित्र ः

सामान्यतया हामीले हाम्रा कथाहरू भन्नुपर्छ र आफ्ना कुराहरू देखाउनु पर्छ । भनि थालनी भए ता पनि लिम्बू सिनेमाहरू आज आएर एक ब्यवस्थित अध्ययनको विषय बन्न पुगेका छन् । यद्यपी लिम्बू चलचित्रहरूले गतिशिल चित्रहरूद्घारा उनीहरूले गरेको रचनात्मक कार्यहरूलाई लिम्बू सिनेमा चलचित्र फिल्म आदि नामाकरण गर्दै आएको पाइन्छ । नेपाललका आमसंचार माध्यमहरूले पनि सोहि शब्दहरू केवल वर्गिकरण गर्न सजिलोको लागि उपयोग गर्दै आएको पाइन्छ । क्ष्लमष्नभलयगक अष्लझब ष्क तजभ अष्लझब mबमभ दथ mबवयचष्तथ या ष्लमष्नभलयगक ाष्mिmबपभच ज्।ब् mष्ििभच। यहाँ फिल्म मेकर भन्नाले लेखक निर्देशक निर्माता प्राबिधिक आदिलाई जनाउँछ । पात्र, उदेश्य, उत्प्रेरणा, उत्कर्ष, निश्कर्ष जस्ता तत्वहरूको संयोजन पछि एउटा चलचित्रको निर्माण हुन्छ । तथापी प्रयाप्त तत्वहरूद्घारा निर्मित चलचित्रहरूको आ–आफ्नै वर्गिकरण छन् । लिम्बू चलचित्र जगतमा चलचित्रकर्मीे स्वयमले लिम्बू चलचित्र र लिम्बू भाषाको चलचित्र बारे प्रष्ट नभएको पाइन्छ । लिम्बू चलचित्र भन्नाले लिम्बू जातिको इतिहास, मुन्धुम, भाषा, धर्म, लिपी, संस्कृती अर्थात् लिम्बू जीवनशैलीमा निर्मित हुनुपर्छ । लिम्बू भाषाको चलचित्र भन्नाले लिम्बू जाति भन्दा फरक विषयबस्तु, फरक आख्यान, फरक परिबेश भएता पनि लिम्बू भाषामा निर्माण गरिएको चलचित्रलाई लिम्बू भाषाको चलचित्र भन्नुपर्दछ ।

लिम्बू चलचित्रमा लिम्बू सौन्र्दयता ः

हुनत सौन्र्दयता पनि राज्य सत्तामा निहित हुन्छ । यसका जलन्त उदाहरण हुन जंग बहादुरको मुलुकी ऐनको मासिने जात र नमासिने जात, चन्द्र शमशेरको सदन पत्र, महेन्द्रको पञ्चायती संबिधानको एक भाषा एक भेष । सत्तामा बसिरहने जाति नश्ल नै सुन्दर र उनको परिवेशको सौन्र्दयताले कानुनी मान्यता पाउनुले इतरका जातिहरूको सौन्र्दयता बहिस्करणमा पर्न जान्छ । चलचित्रमा सौन्र्दयले महत्वपूर्ण स्थान ओगटेको हुन्छ । खस चलचित्रहरू हिन्दु सौन्र्दयको बन्ने गर्दथ्यो भने अचेल केहि आदिवासी सौन्र्दयतामा बनिरहेको पाइन्छ । अधिकांस लिम्बू चलचित्रहरूमा लिम्बू सौन्र्दयता पाइदैन । राम जस्तो, सीता जस्तो चरित्र हिन्दु सौन्दर्य हुन् । काङसोरे, थेबा, युमा, इमानसिंङ, सिरिजंग, फाल्गुनन्द, हिलिहाङ आदि लिम्बू सौन्र्दय हुन् । सिनेमामा तुलसीका मठ, मन्दिर, पुराण, महाभारत जस्ता प्रयोग हिन्दु सौन्दर्य हुन भने तङसिङ, सिलामसाक्मा, याग्रासिङ, मुन्धुमको प्रयोग लिम्बू सौन्र्दय हो । हिन्दु सौन्दर्य अर्थात् अरुनै सौन्र्दयतामा निर्माण भएको चलचित्रलाई लिम्बू चलचित्र भन्ने कि नभन्ने ? यसबारे लिम्बू समुदाय प्रष्ट हुनुपर्छ ।

चलचित्रमा लिम्बू लोक वाङ्मयको प्रयोग ः

शास्त्रिय तथा वाङ्मयको पद्घतीले निर्धारण गरि ल्याएका लिम्बू लोक वाङ्मयहरू पालाम, ख्याली, हाक्पारे, केसाम ताम्के, तुवा, माङघ, मुन्धुम, पाङसाम्लो, खा?उमा, हाम्लाक्वा, नुवाप्मा, खाहुन, लालीङगेत÷नाम्लीङगेत आदि पर्दछन् । लिम्बू चलचित्रहरूमा यी वाङ्मयहरू कतै न कतै प्रयोग हुँदै आएको छ । यी वाङ्मयहरू हुनुले मात्र लिम्बूको अर्थ लाग्दछ । जसमध्ये पालाम, ख्याली, हाक्पारे, केसाम, ताम्के, तुवा, माङघ, मुन्धुम, खा?उमा, नुवाप्मा, हाम्लाक्वा प्रयोगमा आएको छ । उसो भए लिम्बू चलचित्रहरूमा लिम्बू लोक वाङ्मयहरूको सहि प्रयोग भएको छ त ? यो प्रश्नको उत्तर लिम्बू समुदायले नै खोज्नु पर्दछ ।
अहिले सम्म निर्माण भएका प्राय लिम्बू चलचित्रहरूमा लिम्बू लोक वाङ्मयको यथेष्ठ अध्ययन नगरि प्रयोग हुँदै आएको छ । उपरोक्त लोक वाङ्मयको गती, यती, लय, छन्द र आख्यान मेल खान आयो त ? यो प्रश्नको उत्तर चलचित्रकर्मीले दिनुपर्दछ । यिनको गलत प्रयोगले लिम्बू जातिको जीवनदर्शनमा अस्पष्टता आउँछ । लिम्बू लोक वाङ्मयको गलत प्रयोग गरिएको लिम्बू चलचित्रलाई लिम्बू चलचित्र भन्ने कि नभन्ने ? यसबारे लिम्बू समुदाय प्रष्ट हुनुपर्छ ।

लिम्बू चलचित्रमा मिथक प्रतिक र किंवदन्ति ः

समाजमा परम्परा देखि चल्दै आएको केहि अन्धविश्वास समेत भएका घटना, कथा, कुरा वा जनश्रृतिलाई किंवदन्ति भनिन्छ । यो नै सत्य हो भन्ने तर्क हुदैन । पौराणिक युगका पात्र वा बिम्ब चरित्रहरूलाई अहिले युग सापेक्ष प्रयोग गरेर वा दाँज्ने कथाको बिम्बलाई मिथक भनिन्छ । लेप्मुहाङ, येहाङ, खाप्पुनामरङ्ना, कान्देनहाङ आदि लिम्बू जातिका मिथक हुन ।
समान गुणका आधारमा दृश्य वा अदृश्य अन्य कुनै बस्तुको कल्पना गरि प्रतिबिम्बका रूपमा राखिएका बस्तु चिनोलाई प्रतिक भनिन्छ । सिलामसाक्मा, अम्लारिफुङ, सेक्मारि फुङजस्ता बस्तुहरू लिम्बू जातिका प्रतिक हुन् ।
मिथक, प्रतिक र किंवदन्तिको गलत प्रयोग गरिएको अर्थात् अपब्याख्या गरिएको चलचित्रहरू पनि छन् । यस्ता चलचित्रहरूलाई लिम्बू चलचित्र भन्ने कि नभन्ने ? लिम्बू समुदाय प्रष्ट हुनुपर्छ ।

कस्तो हुनुपर्छ लिम्बू चलचित्र ः

लिम्बू चलचित्र समुदायको अर्थात जाति विशेषकै विषयबस्तुमा निर्मित हुन्छन् । जातिय पहिचान, जातिय चाडपर्व, रितिरिवाज, नाचगान, रहनसहन, बोलीचाली, इतिहास, मुन्धुम करिब करिब अनिवार्यरूपमा समाबेश गरिएकै हुन्छ । चलचित्रहरूमा सामाजिक बिभेदको ऐतिहासिक पात्र, राज्यबाट गरिएको दमन, सांस्कृतिक उत्पीडन, कुन्ठा आदिलाई उजागर गर्दै कथा बुनिएको हुन्छ । यति हुदाहुदै पनि कस्तो हुनुपर्छ त लिम्बू चलचित्र ? कस्तो हुनुपर्छ त लिम्बू भाषाको चलचित्र ? यसबारे लिम्बू समुदाय प्रष्ट हुनुपर्छ ।

तपशिल मापदण्ड पुगेकोलाई लिम्बू चलचित्र भन्न सकिन्छ ः

१, लिम्बू समुदाय र जीवनशैलीमा आधारित ः लिम्बू चलचित्र लिम्बू समुदाय र जातिको जीवनशैलीमा आधारित हुनुपर्दछ । लिम्बू भाषा, लिपी, कला, साहित्य, इतिहास, दर्शन भएको ।
२, भाषा ः जुनसुकै विषयमा निर्माण गरिएता पनि लिम्बू भाषा अनिबार्य हुनुपर्दछ ।
३, लोक वाङ्मयको प्रयोग ः चलचित्रमा लिम्बू लोक वाङ्मयहरू प्रयोग गर्दा गलत प्रयोग गर्न पाइदैन । शास्त्रीय तथा लोक वाङ्मयको पद्घतिले निर्धारण गरिल्याए अनुसार हुनुपर्दछ ।
४, मिथक, प्रतिक र किंवदन्ति ः लिम्बू चलचित्रमा मिथक, प्रतिक र किंवदन्तिहरूलाई गलत ढंगले प्रयोग गर्न पाइदैन ।
५, आख्यान ः चलचित्रको आख्यानमा याक्थुङ सौन्दर्यता अनिवार्य हुनुपर्दछ ।

लिम्बू जीवनशैली समुदाय भन्दा फरक जुनसुकै विषयमा निर्माण गरिएता पनि याक्थुङ भाषा अनिबार्य भएको चलचित्रलाई लिम्बू भाषाको चलचित्र भन्न सकिन्छ ।

लिम्बू चलचित्र बजारको स्थिति ः

लिम्बू चलचित्रको बजारको अबस्था अझै ब्यबस्थित भै सकेको छैन । नेपाल सरकारको चलचित्र ऐन, चलचित्र बिकास बोर्डको कार्यक्रम योजना तर्जुमामा आदिवासी जनजाति मातृभाषी चलचित्रको लागि ठोस निर्णय नहुनाले यो र्दुभाग्य ब्यहोर्नु परेको छ । तिन दर्जन चलचित्र बनिसक्दा पनि कतै च्यारिटी सो त कतै हल सम्म पाएको छैन । हल पाइहाले पनि दर्शकलाई कसरी आर्कषित पार्नेतिर पनि ठोस सोचको बिकास गर्न जरुरी छ । अर्थात बजारको ब्यबस्थापन, सम्बर्दन तथा प्रवद्र्धन राम्ररी गर्न सक्नुपर्दछ । अन्यथा लिम्बू चलचित्रहरू च्यारिटि, डिभिडी, भिसिडी मा मात्र सिमित हुन्छ ।

समस्या ः

लिम्बू चलचित्र जगत आफैं अनगिन्ती समस्याहरू झेल्दै अघि बडिरहेको छ । जसमध्ये महत्वपूर्ण समस्याहरू तपशिल छन् ।
१, चलचित्र निर्माणको ज्ञान बिना नै चलचित्र निर्माण गरि चलचित्रकर्मीहरूले बिदेशी चलचित्रहरूको शैली र प्रस्तुतिहरूलाई अनुसरण गरिरहेका छन् ।
२, राज्यको कुनै पनि निकायले लिम्बू चलचित्र निर्माण प्रर्दशन र प्रवद्र्धनका लागि नियम बिहिनतामा राख्नु, उदासिन र गैह्जिम्मेबार राज्य तथा सरोकार निकाय नै हुनु ।
३, लिम्बू चलचित्र निर्माण र मापदण्डबारे लिम्बू चलचित्रकर्मीहरूको नियम बिनियमहरू नबनाइनु ।
४, बजारमुखी उत्पादन, आन्तरिक तथा बाह्बजारमा जानको लागि आफै तयारी अपर्याप्त ।
५, सिमित श्रोत साधन, अपरिपक्क कथा, छरपष्ट विषय बस्तु, फितलो प्रस्तुतिकरण, कमजोर प्रबिधि, कमजोर अभिनय आदि ।

चुनौती र सम्भावना ः

लिम्बू चलचित्र जगतमा जति समस्या छन् करिब त्यहि अनुपातमा चुनौती र सम्भावनाहरू छन् । केहि महत्वपूर्ण चुनौती र सम्भावनाहरूको चर्चा ः
१, सुरुका चरणमा दर्शकहरूको लिम्बू चलचित्र प्रतिको भावनात्मक र आर्कषणले विषय बस्तु प्रति त्यति ध्यान थिएन तर त्यो स्थिति पार गरिसकेको अबस्था छ लिम्बू चलचित्रले । तसर्थ अब विषयबस्तु र प्रस्तुतिकरणको शैलीमा नविनता आएन भने यसको रोचकता र आकर्षणमा हस आउदै जाने, दर्शक नपाउने सम्भावना छ ।
२, लिम्बू चलचित्र निर्माणको प्रारम्भिक चरणमै राष्ट्रिय अन्तराष्ट्रिय पुरस्कृत नोबल सिनेमा पस्कदै आएकोले यस्ले पछिल्लो लिम्बू चलचित्रकर्मीहरूलाई त्यो भन्दा उत्कृष्ट सिर्जना गर्नुपर्ने चुनौती दिएर आन्तरिक प्रतिस्पर्धालाई पेचिलो मात्र पारेको छैन कि लिम्बू सिनेमाको बजार आकाशलाई पनि फराकिलो पारिदिएको छ । जसलाई उपयोग गर्न सक्ने उम्दा लिम्बू चलचित्रकर्मीहरू र सिनेमाहरूको टड्कारो आबश्यकता छ ।
३, लिम्बू चलचित्र बजार प्रवद्र्धनका लागि हाल चलनमा रहेका चलचित्र घरहरूको बिकल्पमा सामुदायिक हलहरू बनाउन सके प्रर्दशनीमा सहजता हुने छ ।

बाँकी विषयको पहिचान ः

वर्तमान राज्य ब्यवस्था अनुसार नेपालको लिम्बू चलचित्रकर्मीहरू दोस्रो दर्जाका नागरिक जस्तै हुन् । आत्मसम्मानका साथ बाच्न पाउनुपर्ने अधिकारको निम्ति सम्पूर्ण लिम्बू चलचित्रकर्मीहरू एकजुट हुनुको विकल्प छैन । सिद्घान्ततः र उत्कृष्टताको हिसाबले लिम्बू चलचित्र जगत अत्यन्तै डामाडोल अवस्थामा छ । यो अवस्थामा चलचित्रकर्मीहरू बीच प्रर्याप्त छलफल बहस सहकार्यको अत्यन्तै खाँचो छ । लिम्बू चलचित्र कस्तो हुनुपर्छ ? भन्ने विषयमा केहिबर्ष यता छलफल तथा बहसहरु भइरहेको छ । उपरोक्त बुद्घामा भनिएको लिम्बू चलचित्र सम्बन्धि नियामावली तय गर्नु पर्दछ । नियामावलीमा उपरोक्त मापदण्डहरु पूरा गर्न तपशिल बिषयहरु समेट्नु पर्दछ ः
बिषय बिशेषज्ञ समिति–
लिम्बू चलचित्र जगतलाई विशिष्ट बनाउँन चलचित्रहरुको आख्यानलाई दर्विलो बनाउँन पर्दछ । कथा÷स्कृप्ट उत्कृष्ट भएमा चलचित्र उत्कृष्ट बन्छ । उत्कृष्ट कथा÷स्कृप्ट निर्माणको लागि “लिम्बू चलचित्र कथा÷स्कृप्ट बिषय बिशेषज्ञ समिति” गठन गर्नु पर्दछ । उक्त समितिमा चलचित्र सम्बन्धि विज्ञ –१, लिम्बू लोक वा्ङमय तथा मुन्धुम विशेषज्ञ –१, याक्थुङ मुन्चइत चोक सयङको प्रतिनिधि –१ गरी ३ सदस्यीय समिति गठन गर्नु पर्दछ ।
चलचित्र निर्माण गर्न लेखिएका कथा÷स्कृप्ट लेखकले उक्त समितिको सुझाव लिएर परिमार्जन गरि पूर्णता दिनुपर्छ ।
लिम्बू चलचित्र जाचपास समिति –
बिशिष्ट, उत्कृष्ट लिम्बू चलचित्र निर्माणको लागि लिम्बू समुदाय बाहेक अन्य कुनै समुदायलाई सेन्सर गर्ने अधिकार प्रत्यायोजन गरिनु हुन्न । याक्थुङ समुदायले आफ्नै समुदायबाट चलचित्र जाचपास समिति गठन गर्नुपर्छ ।
जसको लागि लिम्बू चलचित्र विषय विशेषज्ञ –१, लिम्बूहरूको सर्वोच्च संस्था चुम्लुङको प्रतिनिधि –१, याक्थुङ मुन्चइत चोक सयङको प्रतिनिधि –१, लिम्बू लोक वा्ङमय तथा मुन्धुम विशेषज्ञ –१ र लिम्बू अधिवत्ता –१ गरि जम्मा ५ जना रहेको ‘लिम्बू चलचित्र जाँचपास समिति गठन गर्नुपर्छ, जसले लिम्बू चलचित्रको सेन्सर गर्नेछ ।

साक्थिमिबा साम्धङ याम्मो तियाहा !
सांस्कृतिक पुनःक्रान्ति जिन्दावाद !

सन्दर्भ सामग्री ः
शर्मा लक्ष्मीनाथ – चलचित्र कला
सायमी प्रकाश – चलचित्र कला र प्रबिधि
राई दिपेन्द्र – लिम्बू चलचित्र अवधारणा २०७० (कार्यपत्र)
तुलाधर विजयरत्न – आदिवासी चलचित्रको महत्व र बजारको अवस्था (कार्यपत्र)
चलचित्र बिकास बोर्ड – चलचित्र मञ्चका बिभिन्न अंकहरू ।
सुब्बा शन्देस – संस्कृति जगेर्ना गर्दै लिम्बू चलचित्र (लेख)
फोन ः ९८४२६६४९५०

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी