BSC FM live


टोलटोलबाट योजना छानिँदै


टुडे संवाददाता/ पाँचथर, २९ जेठ
फुङलिङ नगरपालिका ७ दोखुका वडाध्यक्ष राजन गुरुङ चारैजना वडा सदस्यलाई लिएर आइतबार बिहान बहानन्दे घुम्तीमा पुगे । उनले टोलमा रहेका ५८ परिवारलाई नै एक घर एक सदस्य अनिवार्य उपस्थितिका लागि सूचना गरेका थिए ।
टोल भेलामा पुगेका उनले यो आर्थिक वर्षमा भइरहेको कामको प्रगतिबारे उपभोक्ताबाट जानकारी लिए । उनले वडाले गरेको अनुगमनका विषयमा जानकारी गराए । त्यसपछि आगामी आर्थिक वर्षको योजना छनोट प्रक्रियाका विषयमा टोलवासीलाई अनुरोध गरे ।
गुरुङले एक जना वडा सदस्यले एउटा टिमलाई सहयोग गर्ने गरी चार वटा बनाएर योजना छनोटको खाका तयार पारे, जसमा भौतिक पूर्वाधारतर्फ सडकको ट्र्याक खोल्ने, सडक निर्माणको निरन्तरता, पैदलमार्ग निर्माण, विद्यालयको खेलमैदान विस्तारजस्ता योजना छानिए । यसैगरी खानेपानी, सिंचाइका योजनाको प्रस्ताव उपभोक्ताले गरे ।
कृषितर्फ गरा सुधार र अन्नतजातको बाली लगाउन बीउ र तालिमको माग किसानले गरे । परम्परागत पशुपालन छाडेर उन्नत प्रविधिमा फडको मार्न सामूहिक पशुपालनका लागि किसानले लिखित प्रस्ताव गरे । आदिवासि जनजाति, महिला, दलित, अल्पसंख्यकका लागि फरक फरक योजना छनोट गर्नुपर्ने थियो ।
वृद्धवृद्धा, बालबालिका, महिलाका माग उनीहरूबाटै आउन भनेर तीनै पुस्तालाई समेटेर समूह बनाइएको थियो । बालबालिकाले वक्तृत्वकला, नृत्यजस्ता रचनात्मक कार्यक्रमको प्रस्ताव गरे भने वृद्धवृद्धाले आफूहरूको अनुभव संगालिएको पुस्तक प्रकाशनका लागि अनुरोध गरे । आइतबारै दिउँसो खोल्सापारि टोलमा यसरी नै भेला पारेर योजना संकलन गरियो । गुरुङका अनुसार वडाभरिका हरेक टोलको योजना छनोटका लागि बुधबारसम्मको समय छुट्याइएको छ । त्यो अवधिमा हरेक टोलमा पुगेर हरेक नागरिकसँग भेट गरिनेछ । बिहीबार र शुक्रबार वडा समितिको बैठक बसेर योजनालाई संक्षेपीकरण गरिनेछ र आवश्यकताका आधारमा छनोट गरिनेछ । योजनालाई प्राथमिकीकरण गरिनेछ । वडाको निर्णयपछि नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलाई बोलाएर यी योजना किन आवश्यक छन् र कति समयमा निर्माण सम्पन्न हुन्छ भनेर जानकारी गराइनेछ । जानकारी गराउन एउटा टोलबाट तीन जनाका दरले टोलका उपभोक्ता आफैं उपस्थित हुनेछन ।
योजनामा महिला, दलित, अल्पसंख्यक, युवा, वृद्धवृद्धा कोही पनि छुटेका छैनन् । सबैलाई सम्बोधन गरिएको छ । आगामी दिनमा योजना समयमै सम्पन्न हुन र योजना छनोटमा सबैको सहभागिता रहोस् भनेर टोलमा सबैलाई उपस्थित गराइएको गुरुङ बताउँछन् । फुङलिङ नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेका अनुसार वडा ७ मात्रै नभएर हरेक वडाका जनप्रतिनिधि यतिबेला गाउँगाउँमा खटिएका छन् । कतिपय वडामा एकजना वडासदस्यले एउटा टोलको जिम्मेवारी लिएर खटिएका र कतिपयमा वडाध्यक्षदेखि सबै सदस्य संयुक्त रूपमा गइरहेको न्यौपाने बताउँछन् ।

वडा ३ का अध्यक्ष युवराज बराल आफूले वडासदस्यलाई जिम्मेवारी दिएको र आफू अनुगमनका रूपमा मात्रै जाने गरेको बताउँछन् । ‘जान त म पनि गइरहेको छु तर मैले प्रक्रियाबारे जानकारी गराउनेबाहेक अरू विषयमा हस्तक्षेप गरेको छैन,’ बरालले भने, ‘वडा सदस्यहरूलाई अपनत्व महसुस गराउन जिम्मेवारी दिइएको हो ।’

नगरपालिका प्रमुख छत्रपति प्याकुरेल स्थानीय सरकारले टोलटोलबाट ल्याएको योजनामा काम गर्दा सुशासन कायम हुने र विकासले फडको मार्ने भएकाले अहिले त्यसलाई प्राथमिकता दिइएको बताउँछन् । ‘गत वर्ष केही रकम नगरपालिकाले राखेर केही वडालाई दिएका थियौं, यो वर्ष त्यसो नगरी वडालाई बढी नै रकम दिएर काम चाँडो गराउनतर्फ लाग्छौं,’ प्याकुरेलले भने, ‘नगरपालिकाको बजेट अत्यन्तै चाँडो खर्च गर्ने र प्रभावकारी खर्च गर्ने वातावरण बनाउन लागेका छौं ।’

उनले दुई वर्षको अवधिमा प्रशस्तै सिकाइ भएकाले अबको तीन वर्ष पूरै काममा लाग्ने बताए । फुङलिङ नगरपालिका जति बजेट आउँछ, त्यति नै खर्च गर्न सक्ने गरी बनाएको उनले दाबी गरे ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी