BSC FM live


फाल्गुनन्द जन्म जयन्ति


अनिल अधिकारी

आज कात्र्तिक २५गते अर्थात १३५ औ फाल्गुनन्द जन्म जयन्ति । नेपालका १६ औँ राष्ट्रिय विभुति महागुरु फाल्गुनन्दको जन्म १३४ बर्ष पहिले आजकै दिन अर्थात बि.सं. १९४२ साल कात्र्तिक २५ गते आइतबारका दिन ईलामको ईभाङमा भएको थियो । समाज सुधारक एवंम महागुरुका रुपमा चिनिनु भएका फाल्गुनन्दले धर्मप्रचार तथा समाज सुधारको काम बि.सं १९७८ सालदेखी पाँचथर चोकमागुबाट शुरु गर्नु भएको थियो । महागुरुले विभिन्न ६ ठाँँउमा मन्दिर निर्माण गरी धार्मिक उत्थान एवं संरक्षण र प्रचार गर्नुभएको तथ्य हामीकहाँ छर्लङग छ । तिनै मन्दिरहरु मध्येको एक साङसेन नाम्फुन्यक माङहिम सिलौैटीमा महागुरु द्वारा नियुक्त पुजारी  हुनुहुुन्थ्यो रानीटार माक्लुम्बा निवासी स्व. सिद्धिनन्द फेजोङ । स्वर्गिय फेजोङका भतिजा,महागुरु सम्बन्धि तथ्य र ऐतिहासिकताका एक जना खोजकर्ता तथा महागुरुसँग सम्बन्धित महत्वपुर्ण तथ्य एवं कागजातहरुका एक संरक्षक तथा संकलक “महागुरु फाल्गुनन्द र पर्दा भित्रका सत्य तथ्य कथाहरु”, “महागुरु फाल्गुनन्द र लोपोन्मुख कथाहरु ” जस्ता महत्वपुर्ण पुस्तकका  लेखक एवंम सम्पादक मध्येका एक महागुुरुका अनुयायी फिदिम नगरपालिका वडा नं ७ निवासी मनकुमार ( भिम प्रसाद ) फेजोङ सँग महागुुरुको १३५ औँ जन्म जयन्तिको अवसरमा गरिएको बिशेष कुराकानीको केही अंश यहाँ प्रस्तुत गरिएको छ ।

(प्रश्न)….आज फाल्गुनन्द जयन्ति, नेपाल र नेपालीका लागी एक विशेष दिन ।  अझ किराँत समुदायका लागी एक महत्वपुर्ण उत्सवको दिन पनि । यो बिशेष अवसरमा महागुरु फाल्गुनन्द  बारेको चर्चा परिचर्चा नौलो कुरा रहेन । यद्दपी फाल्गुनन्दको योगदान र उहाँले देखाउनुभएको मागदर्शर्नलाई अनुशरण गर्न हामीले फाल्गुनन्दलाई नजिकबाट चिन्न आवश्यक छ । आम दृष्टिमा उहाँ एक अहिंसावादी सन्त,सत्यका पुजारी,समाजसुधारक एवंम १६ राष्ट्रिय विभुति मध्येका एक हुनुहुन्छ । महागुरुका एक अनुयायी,महागुरु सम्बन्धि तथ्य र ऐतिहासिकताका एक जना खोजकर्ता,लेखक एवंम सम्पादकका दृष्टिले फाल्गुनन्दलाई स्मरण गर्नुपर्दा तपाँई कसरी सम्बोधन गर्नुहुन्छ ?
…(उत्तर)ं……धन्यवाद । महागुरु फाल्गुनन्दलाई तपाँईले भने जस्तै एक अहिंसावादी सन्त,सत्यका पुजारी,समाजसुधारका रुपमा चिन्ने गर्दछौ । उहाँको चिनारी यसमा सिमित छैन । मेरो अध्ययन एवंम अनुसन्धानले के ठहर गरेको छ भने वहाँ एकजना समाजसुधारक एवंम राष्ट्रिय विभुतिका रुपमा मात्र सिमित नरही भौतिक शरिरका हिसाबले किराँत समुदायमा मानवका रुपमा जन्म लिनुभएका दुुरदर्शि महापुरुष, महामानव एक साक्षात ईश्वर हुनुहुन्छ । जो किराँत समुदायका लागी मात्र होइन नेपाल,नेपाली समाज ,सिङगो राष्ट्र र राष्ट्रियताका लागि जिवनभर सेवकका रुपमा चिनिनुभयो । अहिंसालाई  मुल मर्म बनाउने महागुरु धर्म संस्कृतिका उत्थानककर्ता, सामाजिक विसङंगतिको निरुपण र महिला शिक्षा एवंम अधिकार  तथा मानविय धर्म र मौलिकताका अभियान्ता पनि हुनुहुन्थ्यो जसका तथ्यगत प्रमाणहरु विभिन्न समयमा प्रकाशन भएका लेख रचनाहरुबाट हामी पाउन सक्छौ ।यस अर्थमा म उहाँलाई कलियुगका एक साक्षात ईश्वर (तागेरानिङ वाफुमाङ) मान्छु ।

…(प्रश्न)………एउटा प्रश्न यहाँनेर रह्यो । महागुरुलाई तपाँई साक्षात ईश्वर मान्नुहुन्छ । महापुरुष मात्रले सम्बोधन नपुग्ने यहाँको तर्क छ । उता तपाँई र रमेश तुम्बापोको संयुक्त सम्पादकियमा प्रकाशित पुस्तक “महागुरु फाल्गुनन्द र लोपोन्मुख कथाहरु” भित्र पनि महापुरुषको पंतिमा महागुरुलाई उभ्याउन सुहाँउदिलो नहुने तर्क उठ्ठान गर्नुभएको छ र कारणमा महागुरुले दिव्य ज्ञानका लागी उति कठोर साधना गर्नुनपरेको तथ्य सुरक्षित गर्नुभएको छ । यस हिसाबले महागुरु फाल्गुनन्दलाई महापुरुष वा समाजसुधारकका रुपमा उभ्याउदा सान्दर्भिक नहुने निष्कर्ष हो ?

…..(उत्तर)ं….. सान्दर्भिक हुदै नहुने तर्क भन्दा पनि उहाँको जिवनका रहस्यहरु चमत्कारिक घटनाक्रमहरु र साधना आदिलाई नियाल्दा वहाँलाई महासिद्ध युगपुरुष भगवान फाल्गुनन्द भनेर सम्बोधन गर्दा उपयुक्त हुने म ठान्दछु ।

…….(प्रश्न)ं……..रहस्यमय एवंम चमत्कारिक घटनाहरु भन्नाले तपाँईकै शब्दमा स्वतस्फुर्त प्राप्त भएको दिव्य ज्ञान आदी पर्दछन् ?

…..(उत्तर)ं……..त्यो पनि हो , माईपोखरी , निगुरादिनको विघोत पोखरीमा आदी ठाँउमा जोडी नागहरुलाई निम्त्याएर गाईको दुध र प्रसाद ख्वाएका कथाहरु देखी आफ्ना शिष्य वा जो कोहिले गरेका झुट वचनहरुको बोध एवंम छलकपटका जानकारी पाँउने अन्तर्यामी शैली र बेलायति सेनामा विपक्षीको निसाना बारम्बार चुक्ने अद्भुतकला देखी बिना अक्सिजन फक्ताङलुङको काखमा ४ दिनसम्म अन्र्तध्यान भएका जस्ता असाधारण घटनाहरु छन् । टाढाको कुरा किन गर्नु हामी नजिकैको हाम्रो रानिटारकै महादेवथानको भिरमा तारामण्डलको अद्भुत दर्शन महागुरुले आफ्ना चेलाहरुलाई देखाएको कथन समेत हामीले फेला पारेका छौ ।

…..(प्रश्न)ं…. मैले प्रसङग थोरै बदले । किराँत समुदायले देवदुतको रुपमा उच्च सम्मान गर्ने महागुरुले बि.स ं१९८८ बैशाख २४ मा तत्कालिन दश लिम्बु सत्र थुमको भेला मार्फत ७ बुदेँ सत्य धर्म मुचुल्का जारी गर्नुभयो । त्यो धर्म मुचुल्काको आधारमा रहेर किराँत धर्म संस्कृतिको उत्थान एवंम संरक्षणमा लाग्न सबैलाई उहाँले प्रेरित गर्नुभयो । किराँत समुदायले सो मुचुल्कालाई अनुसरण गर्न सके नसकेको बारे तपाँई स्वयमले पक्कै मुल्याङकन गर्नुभएको होला । यस सम्बन्धमा तपाँईको टिप्पणि के रहन्छ ?

…..(उत्तर)ं…….बास्तबमै महागुरुका विचार र मार्गदर्शनको अनुशरण शत प्रतिशत हामीले गर्न सकेका छैनौ र समाजमा अनैतिकता बढ्दै जाँदा धर्म कर्म , अहिंसा र सत्मार्ग तर्फ युवा पिडिँको झुकाव कम हुदै गएको छ । त्यसैले गर्दा समाज बिसङगति तर्फ होमिदै गएको छ । यस्तो अवस्थाले झन् महासिद्ध युगपुरुष भगवान फाल्गुनन्दका दिव्य मार्गदर्शनको अनुसरणको खाँचो देखाएको छ । भनौ महत्व चुलिएको छ ।

…..(प्रश्न)ं…..फाल्गुनन्दका विचारको अनुशरण गर्न र अनुयायी बन्न नसकिरहेको र समाज विसङगति तर्फ होमिएको तितो यर्थातता यहाँले रााख्नुभयो । उहाँको दुरदर्शि बिचार राय एवंम सुझावहरु वर्र्तमान सन्दर्भमा झन् बढि सान्दर्भिक हुदाँहुदैपनि अनुशरण गर्ने कुरामा चासो नदेखाउनु नेपाली समाजको दुर्बलता हो । दुरदर्शि विचारका धनि फाल्गुनन्दका हरेक दिव्य बिचारहरु महत्वपुर्ण हुदाहुदै पनि बर्तमान सन्दर्भमा अनुशरणको अपरिहार्य आवश्यकता देखिएको बिचार के हुन सक्ला जब कि तत्कालिन समयमा फाल्गुनन्दले उठाएका नारी शिक्षा अधिकार र समानता बर्तमान सन्दर्भमा व्यवहारको तहमा पुगिसकेको छ ।

……(उत्तर)ं…… अहिलेको सन्दर्भमा पनि कतिपय समुुदाय भित्र छिटफुट रुपमा देखिने मासुमंश र मद्यपानको अत्याधिक सेवन एउटा गलत अभ्यासकै रुपमा बिद्यमान छ । यसले नैतिक शिक्षालाई बिस्थापन गरिरहेको छ ।अखाद्य बस्तुको  सेवनले हत्या हिंसा जस्ता जघन्य अपराध बढिरहेका छन् । यस अर्थमा महागुरुले औल्याएको मासु मंस र जाँड रक्सी निषेधको निति अनुसरण योग्य छ ।

…..(प्रश्न)ं…फरक बिषय जोडौ । मौलिकताका सम्बन्धमा महागुरु बारे अध्ययन गर्दा तपाँईले वहाँको विचार कस्तो पाउनुभयो ? केहि बर्ष यता तपाँई महागुरु बारेको खोज तथा संकलनमा व्यस्त रहनुभएकाले मैले यो प्रश्न जोड्न चाँहे ।

…..(उत्तर)ं ……..मौलिकताका सम्बन्धमा उहाँ मैले जानकारी पाँएसम्म स्वदेशी कपडालाई प्राथमिकता दिनुपर्छ भन्ने विचार राख्नु हुन्थ्यो । घरेलु उद्योगहरु फस्टाउन सके देशको उन्नति हुन्छ भन्ने राय महागुुरुको रहेको थियो ।

(प्रश्न)ं…….तर यसरी स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्छ भन्ने एक जना अभियान्ता, किराँत धर्मको उत्थानकर्ता एवंम संरक्षक तथा समाज  सुधारक महान् ब्यत्तित्व महागुरुलाई देशıोहीको आरोपमा समातिएको र समाज सुधारको अभियानमा अनेकौ अबरोध सिर्जना गरिदा पनि अनवरत रुपमा लागिरहने महामानवको योगदानको कदर के राज्यले गर्न सकिरहेको छ ? छैन भने उहाँको अतुलनिय योेगदानलाई थप चिरस्थायी बनाउन र सदा स्मरण गर्न हाम्रोे के भुमिका रहन्छ ?

…..(उत्तर)ं ……..निश्चय पनि हामीले उहाँबारे जति चर्चा परिचर्चा ग¥यौ जति खोज ऐतिहासिकताको अनुसन्धान ग¥यौ त्यसले के देखाउछ भने महागुरुलाई ससम्मान राष्ट्रिय विभुतिको पङतिमा उभ्याएर मात्रै, ठाँउ ठाँउमा शालिक निर्माण गरेर बर्ष दिनमा एक दिन सम्झिएर मात्रै नपुग्ने निष्कर्षमा पुग्छौ । किन त भन्दा आज महागुरुका शरणमा लाग्न ,उहाँलाई अनुसरण गर्न भन्दा पनि अन्यत्रै हामी किरात समुदाय र समस्त नेपालीहरुको ध्यान जान थाल्यो । मदिरापान ,मासुमंसको सिकार मान्छेको पहिलो रोजाई बन्न थाल्यो । यसबाट नैतिकता भन्ने कुरा हराईसक्यो । स्वदेशी उत्पादनलाई प्राथमिकता दिदा देशलाई फाइदा हुन्छ भन्ने उहाँको मार्गदर्शन न हामीले अनुशरण गर्न सक्यौ न त खोज्यौ नै । माङहिम बनाएर पुजा पाठ गर्ने काम पुजारीलाई सुम्पियौ हामी आफुु चाँही साधना योग ध्यान पुजापाठ बाट टाढा रह्यौ । महागुरुका दिव्यउपदेश मध्येको एक विवाह भोज भतेर इत्यादीमा गर्ने फजुल खर्चको कटौतिलाई पनि महत्व दिन सकेनौ । तसर्थ सच्चा मन र कर्मले उहाँको मार्गदर्शनलाई अंगाल्नु हामी महागुरुका अनुयायी सबै नेपालीको कर्तव्य भएको छ । यसो भएमा मात्र महागुरु प्रति हामीले सम्मान,अनुसरण र भत्तिभाव गरेको ठहरिन्छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी