BSC FM live


महेन्द्रले पत्याएका मान्छे


युवराज गौतम
राजा महेन्द्रले चीनसँग शान्ति तथा मैत्री सन्धि गर्न सहमति जनाएपछि नेपाललाई आफ्नो छत्रछायामा राख्ने भारतको दुराशय क्रमशः पतन भयो । तत्कालीन परराष्ट्रमत्री चूडाप्रसाद शर्मा र नेपालस्थित चिनियाँ राजदूत पान जुलीले हस्ताक्षर गरेको सो सम्झौतामा पञ्चशीलका सिद्धान्तलाई सम्बन्धको आधार मानिएको छ । टंकप्रसाद आचार्य प्रधानमन्त्री छँदा २०१३ असोज ५ गते (१९५६ सेप्टेम्बर २०) नेपाली, चिनियाँ र अंग्रेजी भाषामा तयार पारी हस्ताक्षर गरेको सम्झौताप्रति भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले असन्तुष्टि व्यक्त गरे । उनको कथन थियो– ‘जोसँग सम्झौता भए पनि नेपालमा भारतको विशेष स्थान (स्पेसल पोजिसन) छ ।’ चीन भ्रमण गर्ने पहिलो प्रधानमन्त्री टंकप्रसाद आचार्यले २०१३ असोजमा पत्रकारहरूलाई भनेका थिए– ‘भारतले प्रत्येक साल २ करोड डलर र अमेरिकाले २० लाख डलर सहायता दिइरहेका छन् । चीनले सहायता गर्ने भएमा त्यो स्वीकार गरिनेछ ।’

असोज २२ गते नेपाल–चीनबीच आर्थिक सम्झौता भयो । चीनले भारु ६ करोड बराबरको सहायता गर्ने भएपछि त्यसको कम्पन दिल्लीसम्म पुग्यो । नेपाली कूटनीति विस्तीर्ण हुँदै थियो । यही क्रममा भारतका प्रथम राष्ट्रपति राजेन्द्र प्रसादले नेपालबाट प्रथम विदेश यात्रा सुरु गरे । राजा महेन्द्रले विमानस्थलमा उनको स्वागत गरे । नेपालको सौन्दर्यप्रति राजेन्द्र प्रसाद मुग्ध भएछन् । त्यसबेला भारतीय राष्ट्रपतिको सत्कारमा खटिएका दरबारका पुराना कर्मचारी भन्छन्– ‘काठमाडौंको मनोहर छटा देखेर राष्ट्रपति राजेन्द्र र उनकी पत्नी राजवंशीदेवी छक्क परेका थिए ।’

असल, योग्य र इमान्दार मानिसहरूको सहयोग लिन सक्ने कला छ भने शासकले पराजय भोग्नु पर्दैन ।
चौथो विश्व बौद्ध सम्मेलन आयोजना गरेर राजा महेन्द्रले भिक्षु अमृतानन्दलगायत विद्वान्हरूबाट धार्मिक कूटनीति जगाए । २०१३ कात्तिक १३ गते टुँडिखेलमा गरिएको सम्मेलनले नेपालका बौद्धमार्गीहरू अझ सक्रिय भए । भारत, श्रीलंका, कम्बोडिया, चीन, जापान, थाइल्यान्ड, इन्डोनेसिया, फ्रान्स, मलेसिया (मलाया), अमेरिका, ब्रिटेन, बर्मा, पाकिस्तान आदि राष्ट्रका प्रतिनिधिलाई सम्बोधन गर्दै नेपाल बुद्ध धर्मको केन्द्र र प्राचीन सभ्यता पल्लवित–पुष्पित भएको पवित्र भूमि हो भन्ने सन्देश दिए, महेन्द्रले । यसले गर्दा संयुक्त राष्ट्रसंघले बुद्धको जन्मथलो र बौद्ध तीर्थस्थलहरूबारे चासो राख्न थाल्यो ।
२०१२ माघ १३ देखि २०१४ असार ३१ गतेसम्म प्रधानमन्त्री भएका टंकप्रसाद आचार्यलाई राजनेताका रूपमा राजा महेन्द्रले ठूलो विश्वास गरेको देखिन्छ ।

प्रजातन्त्रका लागि संघर्ष गरेको पृष्ठभूमि, स्पष्ट वक्ता, इमान्दार र प्रबल राष्ट्रवादी व्यक्ति भएकाले नेपाल प्रजा परिषद्को मन्त्रिमण्डलका प्रधानमन्त्री बनाइए, उनी । बानेश्वर हाइटस्थित निवासमा एकपल्ट आचार्यले भनेका थिए–‘चीनसँग हामीले सम्झौता गरेपछि भारत मसँग धेरै रिसायो । भारतीय सहायता रोकियो भने अप्ठ्यारो पर्न सक्थ्यो, नेपाललाई । त्यसैले राजासँग सल्लाह गरेरै मैले राजीनामा दिएँ ।’ आचार्यसँग निकट रहेका त्यसबेलाका सक्रिय पत्रकार तथा साहित्यकार श्यामदास वैष्णव (हाल ज्ञानेश्वर) भन्छन्– ‘टंकप्रसादजीलाई राजाले केही इशारा गरेका थिए । राजाको मनसाय बुझेर उनले राजीनामा दिएका थिए ।’ तर राजा प्रधानमन्त्रीबीच कटुता थिएन ।

टंकप्रसाद आचार्य प्रधानमन्त्री हुनुअघि राजाले विश्वासपात्रहरूको ‘रोयल एडभाइजरी बोर्ड’ गठन गरेका थिए । नेपाली राजनीतिमा विदेशीको प्रभाव नरहोस् भनेर राजा महेन्द्रले बारम्बार सम्झाउँथे । किनभने, २००७ सालपछि दरबारका ‘विश्वासपात्र’ भएको अभिनय गरेर दिल्लीका दूतहरू सक्रिय हुन थालेका थिए । नेवारी भाषामा प्रकाशित नेपालभाषा पत्रिकाले २०१२ कात्तिक १८ गते लेख्यो– ‘नेपालको कार्यपालिका नायकले राज्य शासन सुरुदेखि नै ब्रिटिस साम्राज्यको राजधानी नयाँदिल्लीमा पहिला वर्षमा नै जुनसुकै नामले पनि दाम राख्न जाने भइरहेको छ । यो प्रथा कहाँसम्म राम्रो हो ?’ प्रथा अहिलेसम्म यथावत् छ । पात्र बदलिए, प्रवृत्ति बदलिएन ।

जनता सचेत भएको आजको अवस्थामा त राजनीतिमा विदेशी प्रभाव बढ्दै छ भने ऊबेला झन् कस्तो थियो होला, सहजै अनुमान गर्न सकिन्छ । तर त्यसलाई कसरी रोक्ने भनेर महेन्द्र चिन्तित भए । त्यसैले, राष्ट्रको माया गर्ने इमान्दार, सक्षम र प्रतिभाशालीहरू खोजेर उनले राजकाज चलाएको पाइन्छ ।

महेन्द्रकै पालामा २०१२ सालमा संयुक्त राष्ट्रसंघको सदस्य भयो– नेपाल । ७ वर्षको प्रयत्नपछि कूटनीतिमा ठूलो सफलता प्राप्त भयो । पश्चिमा राष्ट्रले नेपाललगायत केही राष्ट्रलाई राष्ट्रसंघको सदस्य बनाउन चाहे पनि ताइवान (फर्मोसा) क्षेत्रमा राज गरिरहेको कोमिन्ताङ सरकारले विरोध जनायो । सोभियत संघले विशेष बैठकमा नेपाललाई सदस्य बनाउन सहमति दियो । दुई ध्रुवमा विभाजित मस्को र वासिङ्टनको चित्त बुझाएर नेपाललाई राष्ट्रसंघको सदस्य बनाउन महेन्द्रले कति प्रयास गरे होलान्, त्यो पनि आजका कूटनीतिज्ञहरूलाई पाठ हुन सक्छ ।

राजा महेन्द्रले किसान, मजदुर, सेना, प्रहरी, कर्मचारी र निम्न मध्यम वर्गलाई प्रसन्न बनाएर राष्ट्रको बृहत्तर हितका निम्ति काम गरे । उनले पत्याएका मान्छेहरूले क्षमताले भ्याएसम्म सत्कर्म गरे ।
आइएलओमा नेपाललाई सदस्य दिलाउने पनि महेन्द्र नै हुन् । राष्ट्रिय–अन्तर्रा्ष्ट्रिय सम्मेलनमा र असंलग्न आन्दोलनजस्ता मञ्चहरूमा नेपाललाई चिनाउने राजनेताको नाम उच्चारण गर्न नचाहने आजका हर्ताकर्ताहरूले २००७ सालपछिका घटनाक्रम मात्र अध्ययन गरे पुग्छ । किनभने महेन्द्रले राष्ट्रका लागि उपयोगी हुन सक्ने प्रायः सबै क्षेत्रका व्यक्तिको यथोचित कदर गरेका थिए ।

सरदार हंसमान सिंह राजा महेन्द्रका प्रमुख सचिव थिए, २०१६ सालमा । अत्यन्त इमान्दार र सक्षम प्रशासक भएकाले राजा महेन्द्रले उनलाई साह्रै विश्वास गर्ने गरेको पुराना कर्मचारीहरू बताउँछन् । राजदरबारमा राजा त्रिभुवनदेखि राजा वीरेन्द्रको कार्यकालसम्म सेवा गरेका सचिव सुरेन्द्रमान जोशी र हंसमानलगायत व्यक्तिहरूको तर्क थियो– ‘असल काम गर्नेलाई तत्काल पुरस्कार र गलत गर्नेलाई दण्ड दिने हुँदा सेना, निजामति, प्रहरी तथा राजदरबार सेवा सबैतिर अनुशासन थियो ।

राजा महेन्द्र सदैव राष्ट्रिय÷अन्तर्रा्ष्ट्रिय क्षेत्रका विषयमा यथासम्भव जानकारी राख्थे । पहिलो संसदीय चुनावमा काशीप्रसाद श्रीवास्तवले सबैभन्दा बढी मत (१४ हजार १५६) ल्याएको खबर रेडियो नेपालले सुनाएकै थिएन । दरबारका सचिवहरूको बैठकमा राजा महेन्द्रले त्यो खबर सुनाएका थिए । प्रमुख ठाउँहरूमा खटिएका दरबारका गुप्तचरहरूले समय–समयमा खबर पठाइरहन्थे । वाग्मती अञ्चलाधीशसमेत भएका सुन्दरप्रसाद शाहका अनुसार, देशका पचासौं समाजसेवी, प्राध्यापक, राजनीतिज्ञ र साहित्यकार आदिका नाम उहाँलाई (राजा महेन्द्रलाई) कण्ठै थियो ।

असल, योग्य र इमान्दार मानिसहरूको सहयोग लिन सक्ने कला छ भने शासकले पराजय भोग्नु पर्दैन । महेन्द्रले साथीसंगी, नातागोता आफ्नो–बिरानो भनेनन् । ‘योग्यं योग्याय दातव्यम्’ भनेझंै योग्यता हेरेर धेरैलाई जिम्मेवारी दिए । सोभियत संघको भ्रमणमा राजा महेन्द्रले देखाएको कूटनीतिक क्षमताबाट प्रभावित भएर त्यहाँको प्रमुख अखबार प्राभ्दाले लेखेको थियो– ‘नेपालद्वारा अपनाइएको कुनै पनि सैनिक गुटबाट बाहिरै बस्ने नीतिलाई सोभियत संघ कदर गर्छ ।’

राजा महेन्द्र तथा महारानी रत्नको सम्मानमा क्रेमलिनमा आयोजित दिवाभोजमा सोभियत नेता निकिता खु्रश्चेभले घतलाग्दो कुरा भनेका थिए– ‘नेपाल आफ्नो नीति आफै निश्चित गर्छ । अरू राष्ट्रहरूका साथ आर्थिक, राजनीतिक, सांस्कृतिक सम्बन्ध आफैं विकास गरिरहेको छ । समाजवादका धुपौरेहरू हामीलाई प्रायः सिङ र नंग्रा भएका अरूलाई निल्ने वा झम्टिने जनताका रूपमा चित्रण गर्छन् । हाम्रो मुलुकको भ्रमण गरिसकेपछि यी धुत्र्याइँहरू वास्तविकतासँग मेल खाँदैनन् भन्ने कुरा यहाँहरूले चाल पाइसक्नु भयो ।’

आन्तरिक र बाह्य परिस्थिति सन्तुलनमा राख्ने कला थियो, महेन्द्रमा । नेपाली राजनीति र कूटनीतिमा आज धुँवा, ध्वनि र अनेक प्रदूषणले वास्तविकता छोपिएको छ । ‘नेपाल आफ्नो नीति आफैं निश्चित गर्छ’ भनेर ६४ वर्षअघि निकिता ख्रुश्चेभले तारिफ गरेको जस्तो अवस्था छैन, अब । चीन, अमेरिका, भारत र युरोपेली युनियनको खेल मैदान बनेको छ, नेपाल । यो स्थितिमा हामी पुराना दिनहरू सम्झिन बाध्य छौं । परराष्ट्र नीतिका ज्ञाताहरूको सल्लाहमा चलेको हुँदा नेपाललाई विश्वसमक्ष अघि बढ्न मद्दत पुगेको कुराको यो एउटा उदाहरण हो ।

यहाँ राजा महेन्द्रका सबै सहयोगी र विश्वासिला व्यक्तिहरूको नाम उल्लेख गर्न स्थान अभावले सम्भव छैन, तर उनको संगत गरेका केही व्यक्तिहरू अभैm पनि त्यो कालखण्ड बुझ्ने पुस्तक बन्न सक्छन् । तीन–चार पुस्तासम्म दरबारबाटै प्रत्यक्ष संरक्षण र सम्पत्ति प्राप्त गरेका कतिपय कृतघ्नबाहेक राजा महेन्द्रको योगदानको प्रशंसा नगर्ने कमै भेटिन्छन् ।

महेन्द्रले पत्याएका यदुनाथ खनाल, भीमबहादुर पाँडे, दमनराज तुलाधर, तीर्थराज तुलाधरलगायत धेरैले महेन्द्रको व्यक्तित्वमा उचाइ थप्न मद्दत पु¥याएको पाइन्छ । आर्थिक, धार्मिक, कूटनीतिक, राजनीतिक, सांगीतिक, साहित्यिक, सामरिक एव आन्तरिक नीतिमा नेपालको छुट्टै शैली थियो, ऊबेला । महेन्द्रको नीति नै थियो– ‘चीन–भारत मित्र मित्र, बाहिरै बस, नपस भित्र ।’ अहिले त राष्ट्र सञ्चालकको सिरकभित्रै घुस्रिएका छन्, विदेशी शक्ति । उनीहरू हामीलाई अठ्याङ पार्ने प्रश्न सोध्दै छन्– ‘तिमी अमेरिकावादी कि चीनवादी ?’

राजनीतिले राष्ट्र र जनताको हित गर्ने छाँट देखाएन भने जनतामा पैदा हुने वितृष्णाले ज्वालामुखी फुटाउँछ । त्यसको लाभाले व्यक्ति, दल, गुट मात्र होइन, राजनीतिक प्रणालीलाई नै क्षतविक्षत बनाउँछ । राजा महेन्द्रले किसान, मजदुर, सेना, प्रहरी, कर्मचारी र निम्न मध्यम वर्गलाई प्रसन्न बनाएर राष्ट्रको बृहत्तर हितका निम्ति काम गरे । उनले पत्याएका मान्छेहरूले क्षमताले भ्याएसम्म सत्कर्म गरे । झन्डै १७ वर्ष शासन गरेका महेन्द्रका योगदानलाई छोपिदिने हो भने धेरै कुरा छोपिन्छन् । कुनै एउटा घटनालाई उपमा बनाएर व्यक्तिका सम्पूर्ण गुणहरू बिर्सिन सकिँदैन । त्यसैले, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहपछिका राष्ट्रनायकको चर्चा हुँदा महेन्द्रको व्यक्तित्व प्राञ्जल, ज्योतिर्मय र दिव्य देखिन्छ । किनभने उनले नेपाल र नेपालीको हितमा मात्र काम गरे ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी