BSC FM live


रेडियो रिपोर्टले जिल्ला संयोजक पद नै चट


प्रेम ओझा

छदाखाँदाको बहुमतको सरकार चलाउन नसकेर गिरीजाप्रसाद कोइराललाले ०५१ सालमा संसद भङग गरेर मध्यावधी निर्वाचन घोषणा गरे । म त्यति बेला कान्तिपुर सम्बाददाताको रुपमा इलाम, पाँचथर र ताप्लेजुङ तीन जिल्ला कार्यक्षेत्र बनाएर काम गर्ने गर्थे । फिदिमबाट काबेली साप्ताहिक पत्रिका पनि सम्पादन गर्थें ।
मूल प्रवाहको पत्रिकामा काम गर्ने हुनाले अरु आमसञ्चार माध्यमले कहिले काही समाचार माग्ने गर्थे । त्यस बेला रेडियो नेपालसित पनि सम्पर्क थियो । सानातिना घटनाका समाचार रेडियो नेपालले स्थानीय समाचारमा बजाउँथ्यो । मुख्य घटनाहरुको समाचार मूल समाचारमा रेडियो रिपोर्टको रुपमा प्रसारण गथ्र्यो ।
त्यस बेला म एउटा गैर सरकारी संस्थामा प्रजातन्त्र र मानवअधिकार सम्बन्धी सचेतनामूलक कार्यक्रमको संयोजन गर्थे । जिल्लाका दूर्गम क्षेत्रमा टेलिफोन पुगी सकेको थिएन । च्याङथापूमा दुर सञ्चार संस्थानको आकाश वाणी केन्द्र थियो । कार्यक्रम सकेर समाचार बनाउथे र आकाश वाणी केन्द्रमा रेडियो नेपालको ठेगानामा छाडेर बाटो लाग्थें । भोलिपल्ट बाटोमा रेडियो नेपाल ट्युनिङ गर्थे । कार्यक्रमको समाचार प्रसारण हुन्थ्यो र मनमनै खुसी लाग्थ्यो । स्थानीयहरुले आफ्नो क्षेत्रको समाचार बजेको थाहा पाएर खुसी ब्यक्त गर्थे । त्यसबेला रेडियो नेपालको समाचार कक्षमा खगेन्द्र खत्री थिए । उनीसित बेलाबेला सम्पर्क हुन्थ्यो । मैले पठाएको समाचार उनले बुलेटिनमा समावेश गर्न छुटाउँदैनथे तर टेलिफोन र आकासवाणी नभएको ठाउँमा समाचार भने सदरमुकाम फिदिम आइपुगेर मात्र पठाइन्थ्यो । ३÷४ दिन पछि पनि समाचार प्रसारण हुन्थ्यो ।
माध्यावधि निर्वाचन घोषणा भएपछि राजनीतिक दलहरुको गतिविधि बाक्लिन थालेको थियो । महाकाली नदिको पानि बाँडफाँडको बिषयमा भारतसित घुँडा टेकेर सम्झौता गरेको र द्धिपक्षिय सन्धीका बारेमा संसदमा जानकारी नगराएको बिषयलाई मुद्धा बनाएर तत्कालिन प्रतिपक्षी दल एमाले सडक र सदन दुबै क्षेत्रबाट आन्दोलनमा उत्रिएको थियो । मध्यावधी निर्वाचन घोषणा गर्नुको एउटा मुख्य कारण महाकाली सन्धी पनि थियो । गिरीजाप्रसाद कोइरालाको कदमप्रति एमाले रुष्ट बनेको थियो । काम चलाउन सरकारका प्रधानमन्त्री राष्ट्रको खर्चमा हेलिकोप्टर चडेर नेपाली कांग्रेसको पक्षमा प्रचारमा निस्किएका थिए । कोइरालाले गर्ने आमसभामा कालो झण्डा देखाउँदै बिरोध गर्ने एमालेले रणनीति बनाएको थियो ।
पुर्वका ४÷५ जिल्लाका आमसभालाई सम्बोधन गर्नेगरी कोइरालाले फिदिममा पनि एक घण्टाको कार्यक्रम बनाएका थिए । फिदिम बजारको खुल्ला मञ्चमा आमसभा थियो । नेपाल टेलिभिजनका पत्रकार सहित म पनि यासिका क्यामरा झुण्डाएर रिपोर्टीङमा उत्रिएको थिएँ । त्यस बेला पाँचथरमा प्रेस प्रतिनिधि–पत्र (रेड कार्ड) पाउने पत्रकार म मात्र थिएँ । समाचार संकलन गर्न नेपाल टेलिभिजनका सम्वाददाता भीम नेम्बाङ पनि एक दिन अघि नै आइपुगेका थिए । भिआइपीको अगाडि पुग्ने जो कोहीलाई सुरक्षाकर्मीले परिचय–पत्र हेरेर मात्र अनुमति दिएका थिए । मैले प्रेस पास घाँटीमा झुण्डाएर मञ्चको अगाडिबाट तस्वीर खिचें । कोइराला मञ्चमा पलेटी कसेर बसेका थिए । उनले डवल सिसा भएको चस्मा लगाएका थिए । बाहिर पटीको घाम छेक्ने शिसालाई माथि उठाएर भाषण गर्दै थिए । त्यहीबेला अहिलेको बिपी पार्कको छेउवाट अहिलेको एमालेका कार्यकर्ताहरुले कालो झण्डा देखाउँदै बिरोध गरे । प्रधानमन्त्रीको भाषण सुन्नका लागि खुल्ला मञ्चका अघिल्तिर निकै भिड जम्मा भएको थियो । त्यही भिडबाट नारा लगाउँदै १५–२० जनाको समुहले गिरीजाको बिरोध जनाएका थिए ।
अपरान्ह आमसभा सकिएपछि भीमले भिडियो क्यासेट खाममा हालेर हेलिकप्टरमा पुर्याए । नेपाल टेलिभिजनका लागि संकलित समाचार क्यासेट हेलिकप्टरमा आउने भिआइपिहरुले काठमाण्डौ एयरपोर्टमा लगेर छाडिदिने गर्थे । मैले पनि कान्तिपुरका समाचार तयार पारेर फ्याक्स गनें । खगेन्द्र खत्रीसित सम्पर्क गरेर समाचारलाई आवाजमा रेकर्ड गराएँ ।
भीम नेम्बाङसंग धेरै समय पछि भेट भएको थियो । त्यही दिन संजोगले हेवां खोलाो आलो माछा पनि फिदिममा भेटियो । एक केजी किनेर दुई भाइ मेरो घरतिर लाग्यौ । माछा भात खाँदै बेलुकिको सात बजेको समाचार सुन्न थाल्यौं । भीमले समाचार हेर्न त टेलिभिजन भए ठाउँमा पुग्नु पथ्र्यो । त्यस बेला फिदिमबाट नेपाल टेलिभिजन हेर्र्न सकिँदैन थ्यो । रेडियो नेपालले मेरो समाचार मेरै आवाजमा बजायो । हामीले खुसी हुँदै माछा भात खायौ ।
भोलिपल्ट भीम नेम्बाङ झापा फर्किए । म आफनो काममा लागें । अपरान्ह ३ बजेतिर राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिबाट फोन आयो । ‘तपाइले रेडियो नेपालबाट राजनीतिक पुर्वाग्रह राखेर समाचार बजाउनु भएछ । तपाइ जिल्ला संयोजकबाट पद मुक्त हुनु भयो । पर्यवेक्षक भएर त्यस प्रकारको समाचार दिन मिल्दैन । आचार संहिता उलंघन भयो । सचिवालयबाट मलाइ लामै स्पष्टीकरण लिइयो । पूर्वको जिल्ला समिति गठन गर्ने जिम्मेवारी लिएर दौडाहामा आएका खगेन्द्र संग्रौला समक्ष त्यो जानकारी पुगेछ । ताप्लेजुङको जिल्ला समिति गठन गरेर उतैबाट प्लेन चडेर काठमाण्डौ फर्किने योजना मेरो समाचारले भत्ताभुङग पारिदिए पछि संग्रौला फिदिम फर्किएर आए ।
मलाई जिल्ला संयोजकबाट पद मुक्त गरियो । संग्रौला आफुले दुःख पाएको भन्दै मसित आक्रोशित भए । हामी बिचको साहित्यिक सम्बन्ध पनि सकिए जस्तो भो । म उनलाई आदर सम्मान गर्थे । मेरो समाचार सन्तुलित नैै थियो । मैले समाचारमा गिरीजा कोइरालाको भनाईलाई दुई वाक्यमा राखेको थिएँ । सो आमसभामा एमालेको सानु समुहले कालो झण्डा देखाएको समाचार थियो । आमसभा ठुलो समुहमा थियो । बिरोध गर्नेको समुह सानो थियो । यहिनिर समाचार कसरि असन्तुलित भयो । अझ बिरोध भएको कुरा उल्लेख गरेर समाचारमा सन्तुलन मिलाएको थिएँ । तर निर्वाचन पर्यवेक्षक भएको हैसियतले सरकारी समाचार माध्यमको निगरानी गर्नुपर्ने मेरो जिम्मेवारी भित्र पथ्र्यो । तर मैले पत्रकारको भुमिका निर्वाह गरेँ । संग्रौला अर्का ब्यक्तिलाई संयोजक तोकेर राजधानी फर्किए । पत्रकारीताको माध्यमबाट निगरानी गर्ने काम जो कोही सञ्चारकर्मीले गर्नै पर्दछ । एउटा रेडियो रिपोर्टका कारण मैले जिल्ला संयोजक पद गुमाउनु परो । त्यस पटक निर्वाचनको सबै गतिबिधिहरु कान्तिपुर र रेडियो नेपालमा गर्दै रहें । कान्तिपुर समाचारले लेखेबापत परिचय–पत्र र पारिश्रमिक पनिदियो तर रेडियो नेपालले रिपोटिङ गरेको नत परिचय–पत्र नै दियो नत पारिश्रमिक नै पाएँ । रेकर्डिङ गराउँदै फ्याक्स पठाउँदा र आ.वा गर्दाको खर्च आफ्नै खतिबाट हालियो । अहिलेको पत्रकारीता बढी सुगम र सुबिधायुक्त बन्दै गएकोमा सन्तोष लाग्छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी