BSC FM live


पाथीभरा क्षेत्रका गाउँ बस्ती चिटिक्क पारिँदै


ताप्लेजुङ/ १८ भदौ — पाथीभरामा ११ वर्षअघि होटलका लागि घर बनाएका इन्द्रनारायण भट्टराईले पुनःसंरचना गरेका थिएनन् । जस्तो अवस्थामा थियो त्यसैलाई बाहिरबाट टालटुल पारेर चलाइरहेका थिए ।उनको पञ्चकन्या होटलमा तीर्थयात्रीले धुँवाले पिरोलेको, कोठाहरू स–साना भएको, एक, दुईजनामात्रै बस्न सकिने कोठा नपाएको जस्ता गुनासो गरेका थिए ।

गुनासो सुनेर पनि सुधार गर्न नसकेका भट्टराई यतिबेला लाखौं रुपैयाँ खचिईरहेका छन् । घरको छानाबाहेक भित्रको सबै संरचना बदल्ने अठोटमा उनी देखिन्छन् । छानामा लगाएको जस्तापाताले सुख्खा मौसममा गर्मी हुने र जाडो मौसममा शीत चुहिने हुनाले जस्ता मुनि लगाउन सदरमुकाम फुङलिङवाट प्लाइउड लगेका छन् ।

३१ सय मिटर उचाइको यो स्थानमा छानाबाट प्रायः शीत झरिरहने भएकाले त्यसको असर पाहुनालाई नपरोस् भनेर जस्तापातामुनि प्लाइउड लगाइएको हो । कोठालाई चिरिच्याट्ट बनाउने र पाहुनाले धुँवाको गुनासो गर्नु नपरोस् भनेर विशेष ध्यान दिएको बताए ।

होटलमा ओछयाउने सबै कपडा फेर्नका लागि डस्ना, सिरक बनाउन दिइसकेका छन् ।‘मान्छे हो कुनै न कुनै गुनासो त गरिहाल्छ तर ८० प्रतिशतलाइ सन्तुष्टि दिने प्रयास गरेको छु,’ उनले भने । छिमेकी राजेन्द्र महतले पनि घरमा रङरोगन गरेका छन् । घरको पछाडिपट्टि आठवटा टेन्ट अट्ने गरी साढे चार लाख रुपैयाँ खर्चिएर प्लास्टिकको घर बनाएका छन् । घाम पानीले नबिग्रने गरी त्यही घरभित्र टेन्ट लगाउने तयारीमा छन् ।

महिला र पुरुषका लागि फरक/फरक शौचालय बनाएका उनले नुहाउनका लागि बाथरुमको पनि व्यवस्थापन गरेका छन् । यो क्षेत्रमै उनलेमात्रै टेन्ट लगाएकाले एउटा टेन्टमा सुत्नेले रातको दुई हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था उनले मिलाएका छन् । चार जना सुत्न मिल्ने भएकाले मिलेर सुते जनही पाँचसय र व्यक्तिगतरूपमा बसे पनि इच्छानुसार बस्न पाइने भएकाले यो दर राख्न लागेका हुन् ।

इन्द्र नारायण र राजेन्द्र मात्रै नभएर यहाँका २७ वटा सबै होटल आफ्नो पुनःसंरचना गरिरहेका छन् । गाडीबाट ओर्लने बित्तिकैको काफ पार्टीदेखि वलुडाँडा हुँदै फेदीसम्मका व्यवसायी व्यस्त छन् । सबैको ध्यान निर्माणमा छ ।

अहिलेका यात्रुले केही न केही सुविधा खोज्ने र राम्रो ठाउँमा बस्न रुचाउने भएकाले व्यवसायीहरू प्रतिस्पर्धात्मक रूपमा संरचना निर्माणमा जुटेको बताउँछन् । आफूहरूले आफ्नो घर, शौचालय मात्रै नभएर सार्वजनिक स्थानको पुनसंरचना पनि आफैंले गरिरहेको भट्टराई बताउँछन् । होटल व्यवसायी संघका अध्यक्ष भट्टराईका अनुसार प्रत्येक व्यवसायीले आफ्नो घर अगाडिको सडक कम्तीमा तीन मिटर चौडाइको बनाएका छन् । वृद्धवृद्धा र बालबालिकालाइ समेत लक्षित गरी बाक्लो गरी सिंढी बनाएका छन् ।

कतिपयले सिमेन्ट नै लगाएर सडकमा प्लास्टर गरेका छन् । तमोर नदीबाट सदरमुकाम हुँदै बालुवा ल्याएर प्लास्टर गरेको उनले बताए । एकजनाले ६० हजारभन्दा बढीनै खर्च गरेको व्यवसायी मिना महत मादेन बताउँछिन् । तीर्थयात्रीले चढाएको भेटी संकलन गरेर पाथीभरा क्षेत्र विकास समिति र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिले निर्माणको काम गरेका हुन् । पर्यटन मन्त्रालयले पनि यहाँ लगानी गरेको छ । मोटरबाटो पुग्ने काफ्लेपार्टीदेखि मन्दिरसम्मको दूरी ४.५ किमि छ ।
kantipurdaily
हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी