BSC FM live


तिम्बुङ पोखरीको विवाद


४ भदौ,-  जिल्लाको तिम्बुङ पोखरी छेवैमा निर्माण गरिएको मन्दिर अन्यत्रै सार्नुपर्ने स्थानीय लिम्बु समुदायले माग राख्दै आएका छन् । गत नागपञ्चमीदेखि बढेको विवाद समाधानका लागि ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयमा मंगलबार सर्वदलीय/सर्वपक्षीय छलफल आयोजना भयो ।

तिम्बुङ पोखरी छेउमा विष्णु भगवानको मन्दिर बनाइएको भन्दै लिम्बुवान अभियन्ताले विरोध जनाएका छन् । त्यहाँ मन्दिर निर्माण हुँदा लिम्बु जातिको प्राकृतिक सम्पदा र सांस्कृतिक अतिक्रमण भएको भन्दै मन्दिर भत्काउनुपर्ने आन्दोलनकारीको माग छ ।लिम्वुवान अभियन्ताहरुले ‘तिम्बुङ वरक बचाउ अभियान’ गठन गरेर आन्दोलन गर्दै आएका छन् ।

तिम्बुङ पोखरीमा पर्यटन मन्त्रालयको ५० लाख रूपैयाँ र सिदिङ्वा गाउँपालिकाको ५ लाख रूपैयाँ खर्चेर मन्दिर लगायत विभिन्न संरचनाहरु निर्माण गरिएको हो ।

विष्णु मन्दिरका रूपमा गत महिनाको नागपञ्चमीका दिन उद्घाटन हुने तयारी भइरहेका बेला एकाएक विरोध र आलोचना सुरु भएको थियो । आन्दोलनकारीहरूले विरोधस्वरूप मन्दिरमा तालाबन्दी गरेपछि जिल्ला प्रशासनले वार्ताका लागि आह्वान गरेको थियो ।

फुङलिङमा मंगलबार आयोजित छलफलमा तिम्बुङ पोखरी परिसरमा बनेको विष्णुको मन्दिर स्थानान्तरण गर्नुपर्ने लिम्बुवान आन्दोलनका अभियन्ताले अडान राखेका थिए । तर, सरकारको लगानी भइसकेकाले संरचना हटाउन नमिल्ने जिल्ला प्रशासन र स्थानीय सरकारको अडान छ ।
मंगलबार आयोजित छलफलको समन्वय प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले गरेका थिए । स्थानीय सरकारका तर्फबाट सिदिङ्बा गाउँपालिकाका अध्यक्ष नरबहादुर कडरिया र उपाध्यक्ष विष्णु ताम्लिङ सहभागी थिए । त्यस्तै किरात याक्थुङ चुम्लुङका जिल्ला अध्यक्ष प्रेम सेलिङ पनि छलफलमा सहभागी सहभागी थिए ।

मन्दिर निर्माणसम्बन्धी विवाद मिलाउन आयोजना गरिएको छलफलमा राजनीतिक दलका तर्फबाट नेकपा जिल्ला अध्यक्ष विजय किराती, सङ्घीय लिम्बुवान मञ्च जिल्ला अध्यक्ष भूपेन्द्र माबो सामेल थिए ।

आन्दोलनकारीले त्यहाँ विष्णुको मूर्ति राख्न लागिएको भने पनि विष्णुको मूर्ति राख्ने कुनै कार्यक्रम नरहेको प्रमुख जिल्ला अधिकारी निरौलाले बैठकमा स्पष्ट पारेका थिए ।

लिम्बु इतिहास र संस्कृतिका जानकारहरुका अनुसार मुन्धुममा वर्णन हुने हिमाली भेगका पोखरीहरूमध्ये तिम्बुङ वरक एक हो । लिम्बु भाषाको तिम्बक (बन्दूक) बाट अपभ्रंश भएर तिम्बुङ पोखरीको नामकरण भएको मान्यता छ ।

तिम्बुङ पोखरीलाई ताप्लेजुङ र पाँचथर जिल्ला भएर बग्ने इङ्वा खोलाको शीर मानिन्छ ।  यो एउटा सुन्दर पर्यटकीय गन्तव्य बन्न सक्ने ठाउँ हो ।

प्रजिअ निरौला भन्छन्– विवाद छैन, साम्प्रदायिक सदभाव छ

तिम्बुङ पोखरीमा देखिएको धार्मिक विवादबारे जिज्ञासा राख्दा ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी त्यहाँ अहिले खासै विवाद नरहेको र सामाजिक सदभाव राम्रो रहेको बताउँछन् ।

onlinekhabar बाट साभार 

 

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी