BSC FM live


रक्सी, रससाहित्य र राजेन्द्र


कुमार ओझा

स्वर्गिय हरिभक्त कटुवाल, स्व. बिष्णु नविन र राजेन्द्र परदेशीको मृत्यू करीब करीब उस्तै प्रकृतिले भयो । रक्सीमा रौसिने यी तीनै साहित्यकारहरुले नशालाई आफ्नो ‘प्रियतम’ नै बनाए । भनिन्छ हरिभक्त रक्सीको गिलास न समाई कलम समाएको थाहै पाउन्नथे । उता बिष्णु नवीन आफ्नो सग्मगाएको पेटको बीष झार्न रक्सीको सहारा लिन्थे । उनी त्यही रक्सीको रसमा “नवीन नवीन” साहित्यको सिर्जना गर्थे ।

कसैले ‘प्रभाव’मा पिए, कसैले ‘अभाव’मा पिए तर राजेन्द्रले यी दुवैमा पिएनन् उनले खाली ‘जवाफ’मा पिए । हो उनले लेखेका सिर्जनामा अपत्यारिला र आवेगात्पक बिम्बहरुको प्रयोग भएको पाईन्छ । एक पटक बैरागी काईंलाले काठमाडौको सडकमा भौतारिँदा सडकहरुसँग “च्यातिन र फाट्न” भनेका थिए आफ्नो कवितामा । सायद त्यो रात उनी नसाको नौबिसेले सडकहरुसँग साँगुरो भएकोमा दुखेसो पोख्दै थिए । राजेन्द्रले लेखेको एउटा कबिताको आसय पनि त्यस्तै त्यस्तै छ । सायद उनले भोकलागे पछि रुख हिँडेको देखेका थिए । अनि लेखिदिए “भोक लागेपछि रुख पनि हिड्छ” । यो बिम्ब कबिता उनको जीवनभर निकै चर्चित रह्यो ।

भोक उनको एउटा महत्वपूर्ण आदर्श थियो । भोकलाई निकै सुक्स्म किसिमले अनुभव गरेका थिए राजेन्द्रले । उनले आफ्ना कबितामा प्राणी भोकाएको देखि शान्तिको भोक जागेको सम्मका बिषयलाई उठाएका छन् । “लेखनाथ बाजेको गौंथली” होस वा “काँसीबाट आएको गौथली” होस दुबैले भोकको भाकामा गाएको गीत उनको कविताका महत्वपूर्ण दर्शन हुन । खुल्ला आकासमा परेवाहरुले भोकाएर खोजेको शान्ति, दृष्टि विहिन स्वयंभूका आँखाहरुले देख्न नसकेको शान्ति उस्तै उस्तै भएको परिदृष्य छन कबितामा । महानगरमा शान्तिसँग एक रात पनि सुत्न नपाउने परिबेशलाई कडा र आक्रामक शब्दले छेदन गर्ने हिम्मत गरेका छन उनका कबिताले ।

भोक लागे पछि भौंतारिएको एउटा जीवनको कथा अहिले पनि उत्तीकै सान्दर्भिक छ उनको कवितामा । ‘भोक र मुङ्लान’ त्यस बेला भोक लागे पछि मुगलान पस्नु पर्ने बाध्यता थियो भने अहिले भोक लागेपछि ‘मलेसिया’, ‘दुबइ’, ‘कतार’ र ‘खाडी’मा मर्नु पर्ने अवस्था उस्तै उस्तै छ । हिजो हुचिलको आवाजमा भोकको गीत बज्थ्यो राजधानीका सडकहरुमा । तर, आज राता, काला र सेता झण्डाहरुका बिचमा ‘भोक चिच्याउँछ माईतीघर मण्डला वरीपरी’ । तरपनि ती भोकहरुसँग कोही ‘सिंहदरबार’ पस्न सक्दैनन् । कवि राजेन्द्रका कवितामा वेजोड प्रस्तुती छन जस्ले सदाबहार परिस्थितिजन्य अबस्थालाई उजागर गरेका छन अहिले पनि । तर तिनै राजेन्द्र अहिले छैनन् हामीसँग । हामी उनका कविताले देखाएको ढोका खोल्ने कोशिसमा छौं । निरन्तर ।।
।।।। ।।।। ।।।।

२०५३ सालतिर भानु जयन्ती समारोहको एउटा कवि गोष्ठीमा राजेन्द्र परदेशी सँग पहिलो भेट भएको थियो फिदिममा । कालोकालो बर्णको थोरै थोरै जुँगा भेला भएर ‘उत्तर र दक्षिततिर फैलिएका मंगोल जुँगाहरु’ । खिस्स दाँत देखाएर बोल्दा निकै उर्जावान लाग्थ्यो ती आवाजहरु । उनको परिचयसँग जोडिएको एउटा बिषय झनै बेजोड लाग्दथ्यो मलाई । प्रायः सँधैंजसो ‘ढाका टोपीमा राष्ट्रियताको प्रतिबिम्ब’ झल्कन्थ्यो उनको शिरमा । राजेन्द्र परदेशीसँग फिदिममा भएको पहिलो भेटमा त्यती भलाकुसारी गर्ने मौका त मिलेन तर अग्रज कवि साहित्यकारहरु प्रेम ओझा, थाम्सुहाङ पुष्प सुब्बा, डिएम कन्दङ्वा, रामप्रसाद उपाध्याय, मुकुन्द खतिवडा, खड्ग बोहोरा, गणेश भण्डारी, शान्ता गौतम तथा मेरा सहकर्मी भवानी तावा लगायतसँगको चिया गफमा उनका मिठासपूर्ण संवाद सुन्ने अबसर चाही मिलेको थियो ।

मलाई उनी आँफैंमा ‘कविता’ जस्तै लाग्दथ्यो । उनको बोलीमा नरम तर ‘बेजोड साहित्यिक प्रतिविम्ब’ झल्कन्थ्यो । हरेक सम्बादको अन्त्यमा हे.. हे.. गरेर हाँस्ने र सरलता देखाउने कला गज्जव थियो । दोश्रो पटक इलाममा भेटहुँदा उनलाई अलि हतारमा पाएका थियौं हामिले तरै पनि नविन चोकको एउटा चिया पसलमा बसेर गफिँदा करिब एक घण्टा वितेको पत्तै भएनछ । त्यस पछि भने उनीसंगको सामिप्यता निकै प्रगाढ भएर गयो । ०५६ तिर फिदिममा नवराज भट्टराई, भवानी तावा, युधिष्टिरराज आमगाई र दुर्गाराज भट्टराई समेतको सम्लग्नतामा साहित्यिक पत्रिका प्रकाशनको शुरुवात गर्ने सल्लाह भयो । त्यस बेला उर्जा र प्रोत्साहनका गुरु हुनुहुन्थ्यो परदेशी ।

हामीले फिदिमबाट ‘कल्पवृक्ष’ द्धैमासिक साहित्यिक पत्रिकाको प्रकाशन शुरु गर्यौं । शुरुवातमा निकै कठीन भयो । एक त पत्रिका प्रकाशनका लागि आधुनिक प्रेसको अभाव थियो र केही लेटर प्रेस मात्र भएकोले पनि प्रकाशनमा उनीहरुको नियन्त्रण मान्नु पर्दथ्यो । अर्कोतिर तत्कालिन प्रशासकले पत्रिका दर्ता गर्न नदिएर “बहुदल पछिको ठूलो निरंकुशता” महशुस गर्नु पर्यो हामीले । तर पनि पत्रिका प्रकाशनमा उर्जा प्रदान गरिरहने प्रेम ओझा, राजेन्द्र परदेशी, पुष्प सुब्बा, कृष्ण धराबासी, माधव विद्रोही, रविमान लम्जेल, देवी पंथी, डा. घनश्याम परिश्रमी प्रति आभारी छु । उता पत्रिका दर्ताको लागि दबाब सिर्जना गर्न सहयोग गर्नु हुने ब्लाष्ट टाइम्स दैनिकका सम्पादक “राजकुमार कार्की” र नेपाल समाचारपत्रका प्रधान सम्पादक “स्व. पुष्करलाल श्रेष्ठ” तथा मेरो पत्रकारिताका गुरु आदरणिय दाई “किशोर नेपाल” प्रति सम्मान ब्यक्त गर्दछु । लामो संघर्ष र अथक प्रयास पछि हामीले कल्पवृक्षलाई दर्ता गर्यौं र निरन्तरता दियौं । साहित्यिक पत्रकारिताको ईतिहासमा पाँचथरबाट दर्ता भएर पहिलो पटक प्रकाशन भएको पत्रिका हो “कल्पवृक्ष” । जसले पाँचथरको साहित्यिक इतिहासमा थुप्रै नयाँ सिर्जनशिल प्रतिभाहरुलाई प्रोत्साहन गर्यो र साहित्यिक बाटो देखाएको छ ।

तर, कुनै समय जिल्लाको साहित्यिक इतिहास लेख्न तम्सिएकाहरुले त्यो “बिशाल इतिहास” बोकेको “कल्पवृक्ष”को नाम समेत उल्लेख गर्न नचाहेर “भूमिगत सपनामा तैरिएको” पाईयो । मलाई के लाग्यो भने “अजिङ्गर अजिङ्गर” नै हो । ‘कल्पवृक्ष’ दर्ता गर्ने समयमा प्रशासन ‘थर्ररर’ कामेको थियो भने इतिहास लेख्ने समयमा ती लेखकको ‘कलम लुगलुगाएको’ थियो । तर हामीलाई के थाहा छ भने साहित्य ‘कल्पनात्मक’ हुन्छ भने इतिहास ‘यथार्थ र सत्य’ । इतिहास झुटो लेख्न पाइन्न र ढाँट्न समेत पाइन्न । “झुटो इतिहास लेख्नु भनेको एक प्रकारको अपराध गर्नु नै हो ।”
।।।। ।।।। ।।।।

सँधैं उर्जाशिल अभिब्यक्ति दिने परदेशी “रक्सी र चुरोटका पारखी” थिए । तर, अरु प्रति उत्तिकै सचेत पनि थिए । भन्थे युवाका छेउमा बसेर चुरोट पिउनु हुँदैन । युवा भनेका यो मुलुकका भविश्य हुन । तर रमाईलो जमघटमा तोङ्बा सूक्र्याउँदै गफिन उनलाई अति नै रुची थियो । हिजोका गुरु जस्ता परदेशी आज हाम्रो साथी जस्तै भएका थिए । पौवासारतापबाट फिदिम झरेपछि उहाँका हितैसी हुने दुई मध्येका युवाहरु हामी थियौं भवानी जी र म । फिदिममा उनले पहिलो खोजिको सूचिमा राखेका नाम मध्ये प्रेम, भवानी र कुमार अगाडी पर्दथे त्यस पछि मात्र अन्य । बिहान, दिउँसो र साँझको चिया गफमा साहित्यका पारखी र साहित्यिक रुची भएका युवा र समकक्षीहरुको भेला रमाइलै हुने गर्दथ्यो । साथीहरुसँगको भेटघाट पछि सुटुक्क उनको कानेखुशीबाट बुझिन्थ्यो कि कतै मिठो तोङ्बा पाईने ठाउँ तिर जाउँ न । परदेशीकै संगत र साहित्यिक भलाकुसारीमा हो पहिलो पटक मैले तोङ्वाको स्वाद चाखेको “टर्रोटर्रो अमिलो अमिलो” । भवानी जी त लिम्बुको छोरो तेसै पनि अभ्यस्त नै थिए ।

परदेशी सँगको सामिप्यता फिदिममा रहँदासम्म निकै सुमधुर र मिठासपूर्ण नै रह्यो । बिस्तारै रचनाकारिताबाट पत्रकारितातर्फ मेरो कलमले मोड लिँदै गयो । साहित्यमा भन्दा बढी समाचारमा कलम चल्न थाल्यो । हामीले फिदिमबाट “विकासे अखबार”को प्रकाशन शुरु गरर्यौ “वर्तमान समय साप्ताहिक” जो संस्थागत रुपमा दर्ता भएको “पहिलो पत्रिका” हो पाँचथरको । जतिखेर स्थानीय अखबारहरु समेत प्रकाशनमा थिएनन् । जिल्लाबाट थुप्रै पत्रिका प्रकाशनको अनुमति लिएर प्रकाशन शुरु नभएका भने होइनन् । तर, कतिपय केही समय प्रकाशन पछि बन्द भएका थिए भने केही दर्तामा सिमित थिए । हामीले समेत पत्रिकालाई लामो समय निरन्तरता दिन भने सकेनौं । कारण थुप्रै थिए भरखर भरखर भित्रिएका अफसेट प्रेसको एकाधिकार, कम्प्युटर प्रविधिको समस्या, विद्युतको उपलब्धता र सानो ठाउँमा बिज्ञापन बजारको अभाव लगायतका समस्याले निरन्तरतामा ‘ब्रेक’ भएको थियो ।

तर, हामीलाई के गर्व छ भने देशमा भएको “लोकतान्त्रिक जनआन्दोलन”को समयमा निरन्तर रुपमा निडर, निर्भिक, निश्पक्ष र परिचान सहित पत्रिका प्रकाशन गर्न सफल भयौं हामी । तत्कालिन “राज्य सरकारको नियन्त्रण र सेन्सरसिपका बाबजुद” पनि साप्ताहिक पत्रिकालाई दुई दुई दिनमा प्रकाशन गरी निरङ्कुश संस्कारको ढाडमा ‘प्रहार’ गरिरह्यौं । जतिबेला जिल्लामा मिडियाको कुनै पहुँच थिएन । न त केन्द्रीय मिडियाको सूचना जिल्लामा पुग्ने अबस्था नै थियो । हामी भने आन्दोलनलाई अग्र भागमा स्थापित गर्न ‘लडिरह्यौं जुधिरह्यौं’ ।

राज्यसत्ताको दमन र सेनसरसिप त थियो नै उता आफुलाई लोकतन्त्रिक ठान्ने आन्दोलनकारीहरुको प्रहार समेतले पत्रिका प्रकाशनमा निकै कठिन भएको थियो । आन्दोलकारीको चाहना के थियो भने यीनिहरु पनि सडकमा आएर ‘ढुंगामुढा गर्नु पर्छ भवन र शालिकहरु फुटाउनु पर्छ’ । तर, हामिले त्यसो गरेनौं, हामी जुलुसमा सेता र राता झण्डा बोकेर हिँडेनौं । हो हामीले निरन्तर ‘कागजका ढुंगाहरु’ बनायौं । ‘मसिका फोहोराहरु’ बनायौैं । ‘शब्दका बाणहरु बनायौं’ र ‘कलमका तिरहरु’ बनाएर निरङ्कुशता माथि निरन्तर प्रहार गरिरह्यौं । आखिर ‘विजय’ हामिले प्राप्त गरेरै छाड्यौं ।

म ती दुई ब्यक्तिहरुलाई ‘सल्योट’ गर्न चाहन्छु । श्यामबिक्रम पराजुली जसले छापाखाना सेन्सरसिपका बाबजुद पनि ‘वर्तमान समय’लाई प्रकाशन निरन्तरता दिन छपाईका लागि सहयोग गरीरहनु भयो । अर्का प्रेरणाका श्रोत स्व. राजेन्द्र परदेशी जसले निरन्तर लेखिरहन र कलमले प्रहार गरिरहन हौसला र प्रोत्साहन दिइरहनु भयो । जसले गर्दा पाँचथरको ‘लोकतान्त्रिक आन्दोलन’ हामीले जित्यौं । अहिले जिल्लामा मिडियाको विकास तीब्र गतिमा भएको पाएको छु मैले । ‘वर्तमान समय साप्ताहिक’बाट पत्रकारिताको पहिलो पाईला टेक्ने साथीहरु ‘दमदार’ मिडियामा ‘दमदार’ रुपले स्थापित हुँदै हुनुहुन्छ । हिजो सेन्सरसिपको बिरुद्धमा ‘स्फटिक खम्बा’ झंै उभिएको ‘वर्तमान समयको शिक्षा’ लिएर आज वजनदार प्रस्तुति दिईरहनु भएको छ । यो वर्तमान समयको देन हो । हुनसक्छ इतिहास लेख्नेहरुले “वर्तमान समय साप्ताहिक”को नाम लेख्न भुल्नुहुन्छ होला । उहाँहरुलाई मेरो आग्रह के छ भने, “तपाईंले लेखेको इतिहास साहित्य जस्तो काल्पनिक होइन” । “इतिहास त सत्य, वास्तविक र ध्रुवसत्य हुन्छ ।”

अन्त्यमा, मलाई मात्र के लागेको हो भने । ईतिहास र साहित्य फरक–फरक बिषय हुन । त्यसैले फरक–फरक आँखाले हेरौं र फरक–फरक कलमले लेखौं । मेरो प्रेरणाका स्रोत ‘अग्रज साहित्यकारहरु’ । ‘अग्रज पत्रकारहरु’ । जस्ले मलाई शब्द शब्दमा शब्द खेलाउन सिकाउनु भयो । शब्द शब्दमा शब्दको आलोचना गर्न सिकाउनु भयो । शब्द शब्दमा साहित्य र सिर्जना गर्न सिकाउनु भयो उहाँहरु सबै प्रति आभारी छु । सँधैं निर्भिकताका साथ कलम चलाउन प्रोत्साहन र हौसला दिनु हुने स्व. राजेन्द्र परदेशी प्रति “हार्दिक श्रद्धाशुमन” ।

 

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी