BSC FM live


समय सन्दर्भ : प्रचारबाजी कि समाजसेवा ?

प्रकाशित मिति :2019-06-10 02:46:38

दिपक बोहोरा
अहिले हाम्रो तिर सबै भन्दा सस्तो शब्द समाजसेवी भएको छ । कुनै औपचारी कार्यक्रममा सम्बोधन गर्ने कुनै पद भेटिएन भने समाजसेवि भनेर बोलाउने गरिन्छ । एउटा कार्यक्रम भैरहेको थियो तर सामान्य । आउने मानिसहरुलाई आशन ग्रहण भैइरहेको थियो । आशन ग्रहण पनि सकियो, बाँकी आउने अरुलाई पछि गरिने उद्घोषकले जानकारी गराउँदै थिए । बीचैमा एक महानुभाव चिच्याउनु भयो । किन चिच्याउनु भयो भन्नेमा सबैको चासो भयो । पछि बुझ्दा थाहा भयो कि उनलाई आशन ग्रहण गराउन उद्घोषकले भुले छन् । आयोजकले सोधे तपाईंलाई के भनेर छुट्टै आशन ग्रहण गराउने ? उनले भने म समाजसेवी हैन ? आयोजकले त्यसै भनेर आशन ग्रहण गराईदिए । म छक्क परेँ ।
सेवा त निस्वार्थ गरिन्छ । तर हाम्रा कतिथ समाजसेवीहरु खाली नामको पछि लागेका छन् । आशन ग्रहणमा नाम, समाचारमा नाम ,मिडियामा नाम के यो लोकलाई देखाउनमात्र समाजसेवा हो ? एक हजार खर्च गरेको भए एक लाखको प्रचार खोज्ने कसरी समाजसेवी हुन सक्छ ? निस्वार्थि मान्छे समाजप्रति बफदार मान्छे किन प्रचारको पछि लाग्छ मैले बुझ्न सकेको छैन । बिहान कहिकतैबाट सहयोग उठाउने अनि दिउसो आफ्नो नामबाट सहयोग गरेको भन्ने लोकलाई देखाउने बेलुका आफु निकट पत्रकारलाई फोन गरेर समाचार बनाउन लगाउने यो कस्तो समाजसेवा हो ।
जतिसुकै विज्ञान वा प्रविधिको विकास भए पनि मानिसमा मानवियताको आवश्यकता छ । मानिस जुनसुकै बेला जस्तोसुकै अप्ठेरोमा पर्न सक्दछ । मानिसले गर्ने समाजसेवाको सहयोग भनेको आफ्ना लागि गरेको बचत हो । अरुलाई पर्दा सहयोग गरे मात्र आफूलाई पर्दा पनि राहत पाउन सकिन्छ । जति अरुलाई सेवा ग¥यो त्यति नै पुण्य मिल्ने कुरा विद्वानहरुले पनि बताएका छन् ।
समाजसेवा पवित्र कार्य हो भने समाजसेवीको चरित्र तथा दरिद्र मानसिकताबाट समाज सेवामा कालो धब्बा लाग्दछ र समाजसेवा गर्ने संस्थाहरु गनाउने भएका छन् । आजकाल छ्याप छ्याप्ती जहाँ गयो त्यहि समाजसेवी देख्न थालीएको छ । मैले समाजसेवीको भावार्थ न बुझेको हो कि । सबैलाई समाजसेवी भनिदियो भने खाँट्टी समाजसेवी त ओझेलमा पर्ने हो कि भन्ने आशंका लागेको छ ।
हिन्दु धर्मग्रन्थहरुमा उल्लिखित ‘परोपकार पुण्याय पापाय परपीडनम’ उक्तिले पनि समाजसेवाको सार बोकेको छ । मुसलमान सम्प्रदायले आफ्नो आयको हिस्सा गरिब गुरुवालाई बाँड्ने गरेका छन् । क्रिश्चियन सम्प्रदायमा पनि यस कुराको मान्यता छ । सत्य साई बाबाले पनि समाजसेवालाई महत्व दिएका छन् । धर्म मात्र नभएर सामाजिक अनि आत्मिक हिसाबले सोच्ने हो भने पनि समाजसेवा ठूलो कुरा हो ।
तर यी सबै कुराहरु सिद्धान्तमा मात्र छन् । सिद्धान्त र व्यवहार फरक कुरा हुन् भनेर त्यस्लाई अनुसरण गरेको पाइँदैन । सिद्धान्त अनुसार चल्ने हो भने नाम अनुसार सबै काम हुन्छन् । समाजसेवी शब्द जस्तो छ नि त्यस्को पनि मान राख्नु पर्दछ । तर यहाँ के भएको छ भने मानिसको अन्तिम बिन्दु समाजसेवीको नाममा अडकिएको छ । समाज सेवी फलाना र ढिस्काना भन्दै कार्यक्रम संचालकले सम्मान गरेको देखका छौ । वास्तवमा के तिनीहरु सबै समाजसेवीको दायरामा पर्दछन् या समाजसेवीको बिल्ला राख्नको लागि साँच्चिकै हुन् त ? समाज सेवा भनेको परोपकार हो ।
समाजसेवीलाई सस्तो बनाउनु हुँदैन र को समाज सही हो भन्ने कुनै निकाय पनि छैन । केवल समुदायका सदस्यहरुले नै सम्मान गरी समाजसेवी भनी दिन्छन् र सरकारी तवरबाट पनि समाजसेवी भनेर सम्मान गर्ने परिपाटी छ । कतै कतै स्वयम्ले समाजसेवी पनि लेखिएको देखिएको छ । यहाँहरुले पनि देख्नु भएको होला भन्ने बुझेको छु । समाजसेवी बन्नलाई ठुलो त्याग गर्नु पर्छ र तिलान्जली अर्पण गर्नुपर्छ समाजसेवी भनेर आफुलाई समाजमा उभ्याउनु भन्दा स्वयम्सेवक भन्दा समाजले अझ सम्मान गर्ने छन् । विश्वास बढ्ने छ । जो कोहि समाज सेवामा लागेका छन् । उनीहरुले त्यो सम्मान खोज्दैनन् । समाज सेवाको मर्म बुझ्न कोसिस गर्नु पर्छ । विशुद्ध समाज सेवीलाई सम्मान गर्न सिक्नु पर्छ समाजसेवी आफुले हैन अरुद्वारा पुकारिनु पर्छ र सम्बोधन हुनु पर्छ । केवल नाम र प्रतिष्ठा वृद्धि स्वरुप आफुलाई समाज सेवी भन्ने परिपाटिको अन्त गरिनु राम्रो हुन्छ ।
समाजमा केही योगदान नगरेका समाजसेवी, जनताको कर बाट सरकार मार्फत तलब खाने पनि समाजसेवी, जसको कामनै सुरक्षा गर्नुछ उ पनि समाजसेवी, आखिर को हो त समाजसेवी सोध्न मन लागेको छ । तर कोसँग सोध्नु ? आफैं अनुत्तरित हुन्छु अनि चुप हुन्छु । खोइ कसले भनी दिन्छ समाजसेवी भनेको के हो ? समाजसेवा भनेको के हो ?

    Comment Here!