BSC FM live


प्रदीप गिरिको व्यंग्य : हाम्रा ‘पिएचडी अर्थमन्त्री’ले धान र गहुँ पनि चिन्दैनन्

प्रकाशित मिति :2019-05-14 07:57:50

३१ बैशाख: नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले नेपाली समाज नबुझ्ने अर्थमन्त्री भएकाले विकास हुन नसकेको बताएका छन। संघीय संसद प्रतिनिधिसभामा जारी आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा मंगलबार भाग लिँदै सांसद गिरिले नेपालको बारेमा ज्ञान नभएका व्यक्तिहरू अर्थमन्त्री भएका कारण विकास हुन नसकेको बताएका हुन। विगतमा कांग्रेसबाट प्रधानमन्त्री भएका व्यक्तिहरूका पालादेखि नै विदेशमा अध्ययन गरेर आएका व्यक्तिहरूलाई अर्थमन्त्री बनाउनुका कारण मुलुकको विकास हुन नसकेको धारणा राखेका थिए। उनले भने, ‘अर्थमन्त्रीको पद विशेषज्ञताको पद होइन। लामो समययता, कांग्रेसको समयमा पनि बाहिरबाट पढेर आएका पिएचडी गरेका गहुँ र धानको फरक थाहा नपाउने, प्याज र आलुलाई पानी चाहिन्छ कि चाहिँदैन भन्ने थाहा नपाउने अर्थमन्त्री बनाइए।’ विदेशमा पढेका व्यक्तिहरूलाई मुलुकको अर्थतन्त्रको जिम्मा दिँदा विकासमा बाधा भएको गिरिको भनाइ थियो। उनले थपे, ‘हाम्रा प्रधानमन्त्रीहरूले आफूमध्येबाट अमेरिका र जर्मनीबाट पिएचडी गरेका व्यक्तिलाई अर्थमन्त्री बनाए। जसका कारण तथाकथित आधुनिकीकरण, तथाकथित विकासिकरणको र वृद्धिदरको अंग्रेजी प्रवेश भयो।’ गिरिले नेपालले आफ्नो मुलुक सुहाउँदो आर्थिक मोडेल बनाएर अगाडि बढ्न सुझाव दिएका थिए। त्यसो भएन भने मुलुकको अर्थतन्त्र ध्वस्त हुने उनको आशंका थियो। उनले आर्थिक वृद्धिदरसँगै समानता र सामाजिक न्याय सँगसँगै जान नसक्ने धारणा राखे। उनले नेपालले आर्थिक बृद्धिदरको मोह त्यागेर सामाजिक न्याय कायम गर्न लाग्नुपर्ने धारणा राखेका थिए। नेकपाका सांसद अग्नीप्रसाद सापकोटाले सैद्धान्तिक र दिशानिर्देश गर्ने किसिमको वस्तुवादी ढंगले प्राथमिकता र सिद्धान्त निर्धारण भएको भन्दै समर्थन गरेका थिए। उनले सम्मृद्धिको बाधक नै भ्रष्टाचार भएको भन्दै भ्रष्टाचार नियन्त्रणका लागि राज्यसंयन्त्रमा आमुल परिर्वतन गर्नुपर्ने आवश्यकता औँल्याए। उनले भने, ‘सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण गर्नका लागि हामीले राज्य संयन्त्रमा सामान्य सुधार गरेर हुँदैन। सर्जरी गर्नै तयार हुनुपर्छ।’ पुँजी परिचालन र खर्चको मुख्य चुनौती भएको भन्दै त्यसतर्फ विशेष ध्यान दिनुपर्नेमा सापकोटाको जोड थियो।

    Comment Here!